असार १७,स्याङ्जा । स्याङ्जाको ऐतिहासिक नुवाकोट गढीलाई नेपाली सेनाले मर्मत गरेको छ । पुतलीबजार नगरपालिका वडा नं. ५ मा रहेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व रहेको नुवाकोट गढीको मर्मत संभार तथा चौतारी पुनर्निर्माण गरेको हो ।
सेनाले धार्मिक तथा ऐतिहासिक महत्वको पुरानो टुँडिखेल परिसरमा तारजाली सहित गेट निर्माण गरेको छ ।आ.व.२०७८/०७९ मा तत्काल प्रभाव पार्ने परियोजनाको लागि १५ लाख रुपैयाँको लागतमा संरक्षण तथा मर्मत कार्य गरेको नेपाली सेनाको श्री समरजीत गुल्मले जनाएको छ ।
नुवाकोट गढी ऐतिहासिक तथा सामरिक महत्वको स्थान रहेको नेपाली सेनाले जनाएको छ । मर्मत गरिएको स्थानमा श्री कालाभैरव पुरातात्विक मन्दिर तथा अन्य प्राचिन सामरिक महत्वको गढी भएकोेले मर्मत संभार गरिएको नेपाली सेनाले जनाएको छ ।

सम्पन्न संरचना उद्घाटन गर्दै मध्य कमाण्ड हेड क्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले सेनाले धार्मिक तथा प्राचिन महत्वका सम्पदाहरुलाई संरक्षणको कार्य गर्दै आइरहेको बताउनुभयो । नेपालका प्राचिन सम्पदाहरुको पृथक महत्व भएकाले सम्पदाहरुको सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो ।धार्मिक तथा पारम्परिक महत्वका सम्पदाहरुले सबैको पहिचान बोकेको हुँदा सम्वद्ध निकायहरुले प्रभावकारी कार्यक्रमहरु बनाउन आवश्यक रहेकोले स्थानीय तहका जनप्रतिनिधिहरुले सम्पदा संरक्षणका लाग बजेट पनि विनियोजन गर्न सुझाव दिनुभयो ।

धार्मिक तथा पुरातात्विक महत्वको नुवाकोट गढी मर्मत तथा संरक्षणको कार्य श्री समरजीत गुल्म ,आँधीखोला व्यारेक, स्याङ्जाको व्यवस्थापनमा मिति २०७८ चैत्र २४ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो ।संरक्षण कार्य सम्पन्न गरि नेपाली सेनाले श्री कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नं.३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रेम पुन र समरजीत गुल्मका गुल्मपति सेनानी श्री अशोक कुमार मल्ललाई सम्मान पत्र प्रदान भएको । साथै कार्यक्रममा पुतलीबजार नगरपालिका स्याङ्जाका उप प्रमुख देवी अर्याल , नं.३ बाहिनी अड्डाका सहायक बाहिनीपति महा सेनानी श्री विष्णु कार्की पुतलीबजार नगरपालिका वडा नं.५ का वडाध्यक्ष अर्जुन कुमार कार्की , ईतिहासविद प्राध्यापक डा.दिल बहादुर क्षेत्री , कालाभैरव पुरातात्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ्ग, मिडियाकर्मी तथा स्थानीय बासिन्दाहरु गरि करिव ३०० जनाको उपस्थिति रहेको ।