श्रावण २५,वालिङ ।स्याङ्जाको वालिङदेखि पर्वतको हुवासजाने ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वालिङको भूम्रेदेखि पर्वतको हुवासजाने १३ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । कालेपत्रेका लागि टेण्डर भैसकेको र भदौको अन्तिम हप्तादेखि काम सुरु हुने बुधबार आयोजित सार्वजनिक सुनुवाई मार्फत जानकारी गराइएको हो । भुम्रेदेखि अर्चलबोट, तमादी हुँदै डुम्रे भञ्ज्याङसम्मको सडक कालोपत्रे हुने वालिङ नगरप्रमुख कृष्ण खाँडले जानकारी गराउनुभयो ।अर्चलबोटदेखि तमादिको बाटो पछि खनिएको र माथिल्लो सडकलाई प्राथमिकता दिनुपर्ने कार्यक्रममा सहभागी नागरिकहरुले माग राखेका थिए । नागरिकका माग सम्वोधन हुनेगरी काम अगाडि बढाइने नगर प्रमुख खाँडले विश्वास व्यक्त गर्नुभयो ।
सडक कालोपत्रेका लागि क्रमागत बजेट अन्तर्गत २८ करोड विनियोजन भएको ९ नम्वर वडा अध्यक्ष अमृत श्रेष्ठले जानकारी गराउनुभयो । विनियोजित रकममा ३३ प्रतिशत छोडेर जम्मा १९ करोडमा कालोपत्रेको काम हुने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।
यो सडकका लागि क्रमागत बजेट अन्तर्गत ४० करोड विनियोजन गरी २०७८ जेठ महिनामा टेण्डर समेत भैसकेको थियो । सरकार परिवर्तन भएपछि टेण्डर भैसकेको बजेट कटौति गरिएको थियो । नयाँ सरकार बनेपछि २८ करोड विनियोजन भएपछि टेण्डर गरिएको ९ नम्वर वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा वालिङ नगर प्रमुख, उप प्रमुखसहित जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।ढिलै भएपनि कालोपत्रेले पूर्णता पाउने भएपछि आम नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।