Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रिक्साको कमाई अमेरिकामा रमाई

रिक्साको कमाई अमेरिकामा रमाई

  • गोपाल जिटी
  • आइतवार, श्रावण २९ २०७९


  • रिक्साको कमाई अमेरिकामा रमाई

    वालिङ ।स्याङ्जा वालिङका सेरे दाईले रिक्सा चलाएर आफ्नो सन्तानलाई अमेरिका पु¥याएका छन् । २ छोरा र ४ छोरीका बाबु वालिङ १० मदिखोलाका सेरप्रसाद श्रेष्ठ ( सेरे दाई ) उमेरले ६५ पुगिसकेका छन् ।एमएस्सी पढेका जेठा छोरा र बुहारी विगत ८ वर्षदेखि अमेरिकामा छन् । रिक्साकै कमाईबाट छोरालाई एमएस्सी पढाएका हुन् । प्लसटुसम पढेका कान्छा छोरा भने नेपालमै ड्राइभिङ पेशा गर्छन् । यसका साथै ४ छोरीहरुलाई पनि प्लसटुसम्मको अध्ययन गराएर विवाहदान गराइसकेका छन् ।अहिले पनि सेरेदाई आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । विगत तीन दशकदेखि सेरेदाइले रिक्सा चलाउदै आएका हुन् ।
    विहान उठ्नु, घरको गोठ्ल्याई गर्नु अनि खाजा खाएर रिक्सा लिएर बजार निस्कनु उनको नित्यकर्म हो । कर्म नै धर्म सम्झेर गरिएको कामले नै मानिसलाई सन्तुष्टि मिल्छ भन्ने सेरेदाईबाट सिक्न सकिन्छ । वालिङ बजारमा उनलाई कुशल श्रमिककारुपमा चिनाएको छ ।
    गर्दै आएको खेतिपातिबाट सात आठ महिनाका लागिमात्र खानपुग्थ्यो । यसबाट छोराछोरीको लेखाइ पढाइ सहित परिवार धान्नका लागि मुश्किल थियो । आर्थिक गर्जो टार्नका लागि उनले घर बनाउने डकर्मीको काम गर्न थाले । यसरी केही वर्ष गुजारे तर आर्थिक व्ययभार थपिदै जाँदा परिस्थितिले अझ धेरै कमाइ हुने पेशाको खोजी गरायो । यसैक्रममा सेरेदाईलाई रिक्सा चलाउने विचार आएको हो ।
    उतिबेला ३ हजार रुपैयाँमा सेकेण्ड हेण्ड रिक्सा किनेर चलाउन सुरु गरे । काम गर्दै र कमाइ हुँदै गएपछि ६ हजारमा नयाँ रिक्सा किनेर पेशालाई अगाडि बढाए । सुरुका दिनमा हजारदेखि पन्ध्रसय रुपैयाँसम्म दैनिक कमाइ हुन्थ्यो, अहिले भने त्यति छैन । तर पनि काम गराइको आधारमा ठिकै भएको उनले बताए ।सेरेदाई अहिले पनि वालिङ बजारमा आँफ्नो काममा खटिरहेका देखिन्छन् । इमान्दारिता र विश्वासिलो सेवाका कारण अहिले पनि धेरैले उनैलाई खोज्ने गर्छन् ।यहाँ के छ र ? भन्नेहरुका लागि उनको पेशाले गतिलो जवाफ दिएको छ । उनलाई दायाँ बायाँ कुनै कुरामा ध्यान छैन, ध्यान छ त आँफ्नो काम र परिवारप्रति । निरन्तर र कामप्रतिको लगावले सन्तुष्टी दिएको उनको भनाई छ ।
    उनी भन्छन्—“छोरा छोरीले हामी छौं, अब आराम गर्नु या घरमा हलुका काम गरेर बस्नु, भन्छन् तर मन मान्दैन बजार निस्किन्छु ।”
     धेरै युवाहरु वैदेशिक रोजगारीमा श्रम विक्रि गरिरहेका र पैसा कमाउनुपर्छ भन्ने हुटहुटीले उनिहरुलाई दौडाइरहेको छ । आफ्नो गाउँ ठाउँमा भएका अवसरलाई चिन्न र पेशाको सम्मान गर्न नसक्दा पनि धेरैजना विदेशिएका सेरेदाई जस्ता कर्मशील व्यक्तिहरुले सावित गरेका छन् ।

    आइतवार, श्रावण २९ २०७९०८:३९:०१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend