भाद्र ३,वालिङ ।स्मार्टसिटीको नाममा चर्चा कमाएको स्याङ्जाको वालिङ नगरपालिकामा अहिलेसम्म बसपार्क बन्न सकेको छैन । बसपार्क निर्माणको लागि जग्गा खरिद गरेको ८ वर्ष भैसक्दा पनि बसपार्क निर्माणले गति लिन सकेको छैन ।
आन्तरिक श्रोत न्यून भएका कारण बसपार्क निर्माणको काम यकिन गरेर भन्न नसकिने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । केन्द्रीय श्रोत उपलव्ध नभएको र आन्तरिक श्रोत व्यवस्थापन गर्न पनि नसकेका कारण काम अगाडि बढ्न नसकेको अधिकृत भट्टराई बताउनुहुन्छ । आन्तरिक श्रोतले बसपार्क निर्माणको काम संभावना नभएको नगरपालिकाले जनाएको छ । बसपार्क नहँुदा सवारी साधन पार्किङ अव्यवस्थित भएको छ । सवारीसाधनको अव्यवस्थित पार्किङका कारण पैदल यात्रु तथा सर्वसाधारणलाई समस्या भएको छ ।
बसपार्क निर्माणका लागि २०७२ सालमा वालिङको मुख्य बजार चोक र मिर्दि बजारको मध्येभाग सितलबजारमा करिव ३३ रोपनी जग्गा खरिद गरिएको हो । सार्वजनिक बाहेकको जग्गा २ करोडमा खरिद गरेको नगरपालिकाले जनाएको छ । बसपार्क निर्माणको क्रममा अहिलेसम्म तारजाली लगाउने र केही भागमा ग्राभेलमात्र गरिएको छ । तारजाली र ग्राभेल लगायतको काममा पटक पटक गरी करिव २ करोड खर्च भैसकेको छ ।