Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा फार्मेसी सहितको प्राविधिक शिक्षाको अध्ययन सुरु

वालिङमा फार्मेसी सहितको प्राविधिक शिक्षाको अध्ययन सुरु

  • गोपाल जिटी
  • शुक्रवार, भाद्र २४ २०७९


  • वालिङमा फार्मेसी सहितको प्राविधिक शिक्षाको अध्ययन सुरु

    भाद्र २४,वालिङ ।स्याङ्जाको वालिङमा फार्मेसी सहितको प्राविधिक शिक्षाको पढाई हुने भएको छ ।
    वालिङ नगरपालिका वडा नम्वर ९ अर्चलडाँडास्थित वालिङ स्कोलर्स फाउण्डेसनमा डिप्लोमा इन फार्मेसी एण्ड डिप्लोमा इन सिभिल हाइड्रो इञ्जिनियरिङको पढाई हुने भएको हो ।
    फाउण्डेशनद्वारा सञ्चालनमा ल्याइएको डिप्लोमा इन फार्मेसी तथा डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रम स्याङ्जा जिल्लामै पहिलो हो ।
    कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा संघीय सांसद पद्मा अर्यालले अबको शिक्षा समयको माग अनुसारको हुनुपर्ने बताउनुभयो । सांसद अर्यालले हामीले लिदै र दिदै आएका शिक्षा केवल प्रमाणपत्रका लागि मात्र भएकाले अब समय अनुरुपको प्रविधियुक्त शिक्षा हुनुपर्ने बताउनुभएको हो । यसक्षेत्रका नागरिकहरुको माग र हाम्रो प्रयासबाट आज डिप्लोमा इन फार्मेसी एण्ड डिप्लोमा इन सिभिल हाइड्रो इञ्जिनियरिङ कलेज सञ्चालन गर्न सफल भएको पूर्वमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।
    कार्यक्रममा बोल्दै अर्यालले स्याङ्जावासीको एउटा सपना पूरा भएको र यस कार्यमा आफू सहभागी भएर भूमिका निर्वाह गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।हजारौँ नेपाली युवाहरु आज सीपविहीन भएर कठिन काम गर्नुपरेको छ । पढेको शिक्षा र डिग्री दुबै बेकामे भएको छ भन्दै उहाँले एक घर एक सीपमूलक युवा र एक पालिका एक प्राविधिक शिक्षालय आँफूहरुको एजेण्डा र नारा रहेको बताउनुभयो । यस अनुसार स्याङ्जाको वालिङमा प्राविधिक शिक्षालय त्यो पनि फार्मेसी र हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रम ल्याउन पाउँदा थप खुसी मिलेको उल्लेख गर्नुभयो ।
    हाम्रा अग्रजहरुले सत्तरी वर्ष पहिला सुरु गरेको प्राविधिक शिक्षाको अभियान नेतृत्वका कारण सन्तोषजनक नरहेको उहाँले उल्लेख गर्नुभयो । यसका लागि आँफूहरु सरकारमा रहेका बेला एक पालिका एक प्राविधिक शिक्षालयको अवधारणा ल्याएको र सोहि अनुसार प्राविधिक शिक्षालयले गति लिन थालेको सांसद अर्यालले दावी गर्नुभयो ।
    अहिलेको चुनौतीको सामना गर्नका लागि प्राविधिक शिक्षा अनिवार्य रहेको उहाँको भनाई छ ।उहाँले स्कोलर्स फाउण्डेसनमा शुभारम्भ गरिएको यस प्राविधिक शिक्षालयले धेरैजना जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    यसैबीच वालिङ डुम्रीभञ्ज्याङ हुँदै पर्वत जोड्ने बाटोलाई आफूले बजेट बिनियोजन गरेको भन्दै निर्माण गर्ने ठेकेदारलाई भेटी छिटोभन्दा छिटो गुणस्तरीय पीच तथा नाला निर्माण सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
    तीनवर्षे डिप्लोमा इन फार्मेसी एण्ड डिप्लोमा इन सिभिल हाइड्रो इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई सिटीइभिटीले तोके बमोजिमको शुल्क लाग्ने फाउण्डेसनले जनाएको छ । अहिले फार्मेसीमा ४० जनाको कोटा रहेकोमा ५३ जना प्रवेश परीक्षामा सहभागी भएका छन् ।

    शुक्रवार, भाद्र २४ २०७९०८:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend