Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

बजेट कटौतिले खानेपानी योजना प्रभावित

बजेट कटौतिले खानेपानी योजना प्रभावित

  • गोपाल जिटी
  • आइतवार, भाद्र २६ २०७९


  • बजेट कटौतिले खानेपानी योजना प्रभावित

    भाद्र २६,वालिङ । नयाँ समिकरणको सरकार गठन गरे पश्चात अघिल्लो सरकारद्वारा विनियोजित बजेटमा गरिएको कटौतिले पूर्वाधार विकास प्रभावित भएका छन् ।स्याङ्जाको वालिङ नगरक्षेत्रमा वृहत खानेपानी आयोजनाका लागि संघीय सरकारले ३५ करोड सर्भे डिजाइन भई क्रमागत बजेट विनियोजन गरेको थियो । यस अन्तर्गत नगरभित्र १४ वटा खानेपानी आयोजनाको थालनी भएका थिए । अहिले बजेट अभावका कारण अधिकांश खानेपानी आयोजनाहरु सम्पन्न हुन सकेका छैनन् । यसबाट प्रभावित वालिङ नगरपालिका ६ धनुबासे गाउँबासी जिजुबाजेका पालामा झैं पुरानो पधेराबाट पानी बोकेर खान वाध्य छन् ।तीन हजार पाँच सय मिटर टाढा नानीपानीदेखि पाइप विछ्याउने काम भएको छ भने बजेट अभावले पानीको मूल व्यवस्थापनको काम अड्किएको छ ।
    धनुबासे गाउँ ४८ घरधुरी रहेको मगर बस्ती हो । यहाँ ४० वर्ष पहिला त्यही नानीपानी मूलबाट पाइप विछ्याएर खानेपानीको व्यवस्था गरिएको थियो । छिमेकि गाउँ आग्रीडाँडा जाने ग्रामिण सडक खनेपछि पानीको मुहान पुरिएको र समस्या भएको गाउँका अगुवा पुर्णबहादुर थापाले बताउँनुभयो ।
    थापा भन्नुहुन्छ—“संघीय सरकारबाट बजेट आउनु भएपछि डेडवर्ष अगाडिदेखि  नयाँ पाइप विछ्याउने काम भयो । पानीको मूलमा काम गर्नेबेलामा सरकार फेरियो । सरकार फेरिएसँगै बजेट रोकियो भन्ने सुनियो । हामी जिजुबाजेका पालाको पँधेराबाट एककिलोमिटरको दुरीबाट गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने अवस्थाले घेरियौं । एक अर्का प्रति दलहरुको विरोधाभासले हामी गाउबासी मर्कामा प¥यौं ” ।
    धनुवासे गाउँको खानेपानी योजना सम्पन्न गर्न आँफूहरु लागि रहेको वालिङ वृहत खानेपानी आयोजना उपभोेक्ता समितिका अध्यक्ष लक्ष्मीपति पौडेल बनाउनुहुन्छ । खानेपानी जस्तो आयोजनाको बजेट रोक्न मिल्दैन छिटो भन्दा छिटो उपलव्ध गराइयोस भनी ताकेता गरिएको समितिका अध्यक्ष पौडेललको भनाई छ । योसँगै अन्य स्थानमा सञ्चालित आयोजनाहरु सम्पन्न गर्नका लागिसमेत पहल गरिरहेको उहाँले बताउनुभयो ।
    यस्तै स्थानीय जीतबहादुर सारु भन्नुहुन्छ—“स्मार्ट नगरपालिका भन्छन् अहिलेसम्म ४० वर्ष पहिला पनि पानी बोकेरै खाइन्थ्यो अहिले पनि उसैगरी बोकेर खान परिराखेको छ, नगरपालिका बनेर हामीलाई के भयो र । अरु ठाउँका गाउँमा  घर घरमा पानीको धारा पुगेको छ, हामी भने यसरी डोकोमा पानी बोकेर खानु परेको छ ।”

    आइतवार, भाद्र २६ २०७९०८:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend