असोज २,चापाकोट ।स्याङ्जाको चापाकोट नगर प्रमुख देवबहादुर खाँड (ईश्वर) ले कृषि उत्पादनलाई विशेष प्राथमिकता दिइने बताउनु भएको छ ।
पत्रकारहरुसँग कुराकानी गर्दै नगर प्रमुख खाँडले चापाकोट फाँटको उर्वरतालाई मध्येनजर गर्दै किसानहरुको आवस्यकता र समस्याको पहिचान गरी योजना बनाएर अगाडि बढ्ने बताउनु भएको हो । किसानहरुको भेला बोलाएर उनीहरुको धारणा अनुसार काम गरिने उहाँले उल्लेख गर्नुभयो । ठाउँ ठाउँमा प्राविधकहरु पठाउने र माटोको परीक्षण गराएर व्यावसायीहरुको हितहुने गरी काम गरिने नगर प्रमुख खाँडको भनाई छ ।
उहाँले भन्नुभयो—“ चापाकोटमा कृषियोग्य जमीन धेरै छ । कुनै ठाउँमा कागती, सुन्तला होला, कहिँ अदुवा बेसारको उत्पादन बढि हुनसक्छ त कहिँ अन्नबाली लगाएर उत्पादन धेरै लिन सकिन्छ । यसैगरी कुनै ठाउँमा आँप लिची लगाएर बढि फाइदा हुनसक्छ । यसको लागि प्राविधिकहरु खटाई माटोको परीक्षण गराएर कृषकहरुलाई फाइदा हुने किसिमले लाग्छौं ।”
किसानहरुका समस्या पहिचान गरेर उत्पादनमा वृद्धि ल्याउने नगरपालिकाको उद्देश्य रहेकोसमेत नगर प्रमुख खाँडले बताउनुभयो । कृषकहरुलाई आय आर्जनमा जोडेर अगाडि बढाइने छ । यसका लागि कृषि सँकलन केन्द्र सञ्चालन गरी बजारीकरणमा सहजिकरण गरिने उहाँले बताउनुभयो ।चापाकोटमा प्रसिद्ध कालिगण्डकीको तटीय क्षेत्र, केलादीघाट धाम जस्ता धार्मिक तथा सांस्कृतिक महत्व रहेका क्षेत्रलगायत पर्यटनकीय सम्भावनाहरु छन् ।
उपलव्ध प्राकृतिक सम्पदाहरुको विकास र उपयोगका लागि विशेष योजना बनाएर लाग्ने नगरपालिकाको लक्ष्य छ ।नगर प्रमुख खाँडका अनुसार नगरपालिकाको आन्तरिक आयश्रोत कम छ, पहाडि भूभागमा रहेका धेरै वडाहरुमा सडक विस्तारको काम बाँकि छ । जसले गर्दा वडाका नागरिकहरु पालिकासम्म आउनका लागि त्यति सहजता छैन । संघीय सरकारले हाम्रो जस्तो गाउँक्षेत्रमा रहेका पालिकाहरुको पूर्वाधार विकासमा योजना पारी बढि भन्दा बढि बजेट व्यवस्था गर्नुपर्छ ।