असोज ५,चापाकोट ।गाउँमा बजेट आउने कामको थालनी गर्ने एमाले भएको नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले बताउनु भएको छ । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारका पालामा आँफ्नो गाउँ आँफै बनाऔं कार्यक्रम मार्फत गाउ गाउँमा बजेट आउने कामको थालनी नेकपा एमालेले गरेको पूर्वमन्त्री अर्यालले बताउनु भएको हो ।
आफ्नो विकास आँफै गरौं भन्ने भावनाका साथ हरेक आयोजना तथा योजनाहरुमा उल्लासमय जनसहभागिता हुनुपर्ने उहाँको भनाई छ । राज्य सञ्चालनका लागि तथा नीति निर्माण तहमा विभिन्न जात तथा वर्गको पहुँचलाई नेकपा एमालेले सुनिश्चित गरेको नेता अर्यालले बताउनुभयो ।बुधबार स्याङ्जाको चापाकोटमा गुप्त स्मृति प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेकपा एमाले सचिव तथा पूर्वमन्त्री अर्यालले हाम्रो पहिलो विकास मानवीय चेतना हो र त्यसपछि मात्र अन्य क्षेत्रको विकास हुने औंल्याउनु भयो । चेतनास्तरमा अव्वल तथा सामाजिक परिवर्तनका सम्वाहक गुप्त विक एक शैक्षिक व्यक्तित्व भएको उल्लेख गर्दै पूर्वमन्त्री अर्यालले उहाँका सपनालाई पूर्णता दिन हामी सबै लाग्नुपर्ने बताउनुभयो । हरेक व्यक्तिमा सकरात्मक सोँच र चेतनाको विकास हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सशस्त्र द्वन्दका समयमा तत्कालिन नेकपा माऔवादीबाट हत्यागरी मारिनुभएका गुप्तबहादुर विक सामाजिक विभेद अन्त्यका अभियन्ता भएको उहाँले व्यक्त गर्नुभयो । स्वर्गीय विकको सपना र चाहना पूरा हुने गरी अगाडि बढ्न प्रतिष्ठानलाई नेता अर्यालको आग्रह छ ।