असोज ८,वालिङ । नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा कुमारी अर्यालले वैदेशिक रोजगारीको समस्या समाधान गर्न उत्पादनमुखी कार्यक्रमको विकल्प नरहेको बताउनुभएको छ । रिटर्नी फाउण्डेशन स्याङ्जाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले दैनिक हजारौँको संख्यामा नेपाली युवाशक्ति विदेश पलायन हुनु दुखद पक्ष भएको बताउनुभएको हो ।
उहाँले सरकार स्थिर नहुँदासम्म कुनै हालतमा पनि उत्पादन बढाउने कार्यक्रम अगाडि सार्न नसकिने उल्लेख गर्नुभयो । संस्कारबिनाको राजनीतिले देशमा अस्थिरता बाहेक अरु कुनै पनि काम गर्न नसकिने सचिव अर्यालको तर्क थियो ।वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुले विदेशमा सिकेका सीप तथा ज्ञानलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सचिव अर्यालले सुझाव दिनुभयो ।उहाँले विदेशबाट फर्किनुभएका दाजुभाई तथा दिदिबहिनीहरुको सीप र पुँजीको लगानी सुरक्षित गरी राष्ट्र निर्माणमा सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । विदेशमा रहँदा आर्जन गरेका सीप र पैसा लगानी गर्नेे सुरक्षित वातावरण तयार गरी उहाँलाई स्थापित बनाउने जिम्मा हामी सबैको रहेको भन्दै पूर्वमन्त्री अर्यालले विदेश रहर नभई बाध्यता भएको उल्लेख गर्नुभयो । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानिएको भन्दै विदेशमा निश्चित समयका लागि परिश्रम खर्चेका नेपाली दाजुभाईहरुलाई यहाँ सुरक्षित लगानी गर्ने वातावरण हुनुपर्ने उहाँको भनाई छ ।
विश्वका विभिन्न देशमा नेपालीहरु पुगेको भन्दै त्यहाँका प्रविधि, सीप तथा पुँजीलाई नेपालमा सम्मानित रुपमा उपयोग हुनेगरी समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने उहाँले औंल्याउनुभयो । प्रथम स्याङ्जा जिल्ला भेलाले हरिप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय रिटर्नी फेडेरेसन गठन गरेको छ ।