असोज ११,वालिङ । नेपाल सरकारका पूर्वमन्त्री पद्मा अर्यालले नेपाली राजनीतिमा हावी भएको गलत संस्कार त्याग्नुपर्ने बताउनु भएको छ । अघिल्लो सरकारले थालनी गरेका कामहरु प्रभावित हुने गरी गतिविधी अगाडि बढाइनु गलत हो र यो गलत राजनीतिक संस्कारको उपज भएको पूर्वमन्त्री अर्यालले बताउनु भएको हो ।
मङ्गलबार स्याङ्जाको वालिङमा आयोजित वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय भवन समुद्घाटन एवम् संघको १६ औं साधारसभा तथा आठौं अधिवेसनलाई सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले आपूm सरकारमा रहेका बेला विनियोजित अधिकांश बजेट कटौति गरेर गलत राजनीतिक संस्कार मौलाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो—“ हिज धेरै बाटोघाटो पीच थिएनन्, त्यसको थालनी गरेका हौं । स्याङ्जाका धेरै ठाउँमा बाटो पीचको काम अगाडि बढेको छ । सिद्धार्थ राजमार्गको विस्तार सहित पीच गर्ने कामका लागि डेढवर्ष अगाडि बजेट विनियोजन गरिएको थियो । सरकार बदलिएसँगै यस्ता धेरै विनियोजित बजेट कटौति गर्ने काम भएको छ ।”
पूर्वमन्त्री अर्यालले शिक्षा स्वास्थ्य कृषि तथा खानेपानीका क्षेत्रमा धेरै कामहरु भएको बताउनुभयो । एकले अर्काको उछित्तो काढ्ने प्रवृत्तिले विकास निर्माणमा प्रभाव पारेको छ । यस्तो गलत संस्कारलाई त्याग्नुपर्छ । विकास जसले गरेपनि हुने उल्लेख गर्दै कसैले जस लिन्छ कि भनेर रोक्नु गलत भएको उहाँको भनाई छ । उद्योग व्यावसायीहरु उत्साहित भएर काम गर्न आग्रह गर्दै पूर्वमन्त्री अर्यालले नीजि क्षेत्र आर्थिक विकासको अभियानमा रहेको औंल्याउनुभयो । यो अभियानमा सधैं साथ रहने भन्दै ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाको नयाँ सचिवालयसहित बहुउद्देश्यीय भवन निर्माणमा उद्योगी व्यावसायीहरुको साथ र सहयोग रहेको संघका अध्यक्ष तथा केन्द्रीय सदस्य शोभाकान्त पौडेलले बताउनुभयो । पूर्वमन्त्री अर्यालद्वारा संसदीय क्षेत्र स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु.५० लाख को योजनाबाट निर्माण कार्य सम्पन्न भएकोमा आभार व्यक्त गर्नुभयो ।