असोज १५,वालिङ । रामपुर नगरपालिका पूर्वी पाल्पाको समथर र उर्वर भूमिकारुपमा चिनिन्छ । कालिगण्डकी तटमा रहेको रामपुर फाँट कृषिजन्य उत्पादनमा जिल्लाकै अव्वल मानिन्छ । पछिल्लो समयमा आएर नगरपालिकाले कृषिको व्यावसाय प्रवद्र्धन गर्न विभिन्न प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषिजन्य उत्पादनको ठूलो सम्भावनालाई मध्यनजर गरी किसान प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिएर लागेको नगरपालिकाले जनाएको छ ।
कृषि उत्पादनलाई किसानहरुले नै महत्व दिन नसक्दा व्यावसायिकता पाउन नसकेको नगर प्रमुख रमणबहादुर थापाले बताउनु भयो । रामपुरमा जति कृषिको उर्वरता छ त्यो आधारमा किसानहरु व्यावसायिकरुपमा लाग्न नसकेको उहाँको भनाई छ ।नगर प्रमुख थापाले व्यावसायिक कृषकहरुका लागि नगरपालिकाले विगत एकवर्षदेखि ३० लाखको व्याज अनुदान दिदै आएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो—“कृषक प्रोत्साहनका लागि नगरपालिकाले हाइटेक निर्माण गरेर बिरुवाहरु वितरण गर्ने कामको थालनी गरेको छ । यसका साथै कृषि ज्ञानकेन्द्रलगायत सम्बन्धित क्षेत्रसँग समन्वय गरेर बीउ तथा बिरुवाहरु उपलव्ध गराउने काम गरिएको छ । उत्पादन भएका सामान भण्डारण गर्न कहाँ लैजाने भन्ने समस्या छैन, यसका लागि शित भण्डार निर्माण गरेका छौं ।” तरकारी, पशुपालन, नर्सरी लगायत कृषिका विभिन्न विधामा काम गर्ने करिव सय जना व्यावसायिक किसानहरुले नगरपालिकामा आवेदन दिएको नगर प्रमुख थापाले जनाउनुभयो ।
उनीहरुको स्थलगत अनुगमन र काम गराइको मूल्याङ्कन गरेर राहत तथा अनुदानमा सहभागी गराउने उहाँले बताउनुभयो । नगरपालिकाले कृषक प्रोत्साहनका कार्यक्रम ःल्याएसँगै व्यावसायिक किसानहरु वृद्धिहुने क्रम बढेको छ भने प्रोत्साहनका कार्यक्रमले थप उत्साही बनाएको छ ।