असोज ३०,वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले कृषि व्यावसायिकरणमा जोड दिएको छ । कृषिका विभिन्न विधामा क्रियाशिल किसानहरुलाई उत्पादनमा वृद्धि ल्याई आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिकरणमा जोड दिइएको नगरपालिकाले जनाएको छ ।
पालिकाभित्र अहिले ७ वटा कृषिका पकेट क्षेत्रमा किसानहरु सक्रीय छन् । कहाँ कुन खेति वा व्यावसाय हुन्छ भन्ने पहिचान र किसानहरुको चाहना अनुसार कृषि व्यावसायिकरणलाई नगरपालिकाले प्राथमिकता दिएर लागेको कृषि शाखाका नायव प्राविधिक सहायक कमला जैसीले जानकारी गराउनुभयो । कृषि शाखाका नायव प्राविधिक सहायक जैसीका अनुसार वडा नम्वर १२, १३ र १४ गरी तीनवटा वडालाई समेटेर बाख्रा पकेट क्षेत्रकारुपमा विकास गरिएको छ । यसैगरी वडा नम्वर १४ मै मौरी पकेटसमेत रहेको छ । व्यावसायिक किसानहरुको लागि समय समयमा अनुदानलगायतका विभिन्न प्रोत्साहनका कार्यक्रममा सहभागी गराइदै आएको छ ।
यस्तै वडा नम्वर ७ विशेषगरी सुन्तलाखेति राम्रो हुने क्षेत्र हो । यहाँका किसानहरु ुसुन्तलाखेति गरेर आय आर्जनमा जुटेका छन् । यहाँ २ वटा सुन्तला पकेट क्षेत्र छन् । सुन्तलामा लाग्ने रोग व्याधिको निराकरणका लागि किटनाशक औषधीका साथै आवस्यक प्राविधिकहरु नगरपालिकाको कृषि शाखाले उपलव्ध गराउँदे आएको छ । किसानहरुको माग र आवस्यकता अनुसार समय समयमा तालीममा सहभागी गराइदै आएको कृषि शाखाका जैसीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा दर्ता भएर १ सय २३ कृषक समूह सक्रीयरुपमा लागेका छन् । ३ सय ७२ कृषि फर्मले व्यावसाय गरेर आय आर्जनमा जुटेका छन् ।