Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पोखराको बसपार्क,२०४८ सालदेखि निरन्तर चुनावी एजेण्डा, जग्गा घटेको घट्यै

पोखराको बसपार्क,२०४८ सालदेखि निरन्तर चुनावी एजेण्डा, जग्गा घटेको घट्यै

  • PNN Times
  • बुधवार, कार्तिक १६ २०७९


  • कात्तिक १६, पोखरा । ‘बसपार्क भएपछि देशैभरिका सानाठूला गाडी आउँछन् । पोखराको बसपार्क भनेपछि प्यासेन्जरहरुले पनि त्यहीअनुसार सोचेका हुन्छन् । तर, यहाँ आइसकेपछि उनीहरुलाई पहिलो गासमै ढुंगा पर्छ । यत्रो ठूलो ठाउँको बसपार्कमा एउटा पनि व्यवस्थित ट्वाइलेट छैन । ट्वाइलेट जान पनि कि चिया खानुपर्छ, कि पानी किन्नुपर्छ ।’

    पोखरा रंगशालामा भेटिएका सवारी चालक देव गुरुङको असन्तोष हो यो । हुन पनि पर्यटकीय सहरका रुपमा परिचित पोखराको बसपार्क भने सोचेभन्दै ठ्याक्कै उल्टो छ । हिउँदमा आउने यात्रुले धुलाम्मे देख्छन् भने बर्खामा आउनेले हिलाम्मे ।

    images

    पोखरा महानगरको मध्य भागमा पर्ने बसपार्क वडा नम्बर ९ मा पर्छ । उक्त ठाउँमा व्यवस्थित र आधुनिक बसपार्क बन्ने सपना स्थानीयबासिन्दाले ३० को दशकबाटै देख्न सुरु गरेका थिए । त्यतिबेलाका अञ्चलाधीश शंकरराज पाठक र प्लानर पदमबहादुर क्षेत्रीले योजना बनाएको थिए । तर, करिब ५ दशक पुग्न लाग्दासमेत बसपार्क बनेन नै, अधिग्रहण गरिएको जग्गासमेत बर्सेनि अतिक्रमणमा पर्दै गइरहेको छ ।

    २०३२ सालमा तत्कालीन नगर उपत्यका विकास समितिले बसपार्क बनाउने भन्दै २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । पोखरा बसपार्क टोल विकास समितिका अध्यक्ष केशव थापा पोखरा बसपार्कमा २०३५ सालदेखि बस पार्किङ गर्न सुरु भए पनि हालसम्म व्यवस्थित नगरिएको बताउँछन् । 

    तर, ४७ वर्ष बित्न लाग्दासमेत बसपार्क व्यवस्थित बनेको छैन । ४८ सालदेखि विभिन्न राजनीतिक दलले निरन्तर आफ्नो चुनावी एजेन्डामात्रै बनाइरहेको तर, चुनाव जितेर गइसकेपछि भने बेवास्ता गर्दै आएको स्थानीयबासिन्दाको गुनासो छ ।

    पोखरा बसपार्क रहेको क्षेत्र प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ क्षेत्र नम्बर २ ‘क’मा पर्छ । उक्त क्षेत्रबाट चुनाव जितेर गएकाहरु संघीयदेखि प्रदेशस्तरसम्म मन्त्री भइसकेका छन् । तर, बसपार्कको समस्या समाधान नहुँदा स्थानीय खिन्न छन् ।

    ‘मानव भएर पनि मानव उचित व्यवहार बसपार्कबासीलाई छैन । दिनदिनै गाडी आउँछ, कहाँकहाँबाट बस आउँछ, फोहोर फाल्छन् । हामीले धुलो खाइरहेकै छौं,’ बसपार्कका गंगाराज पौडेल भन्छन्, ‘वास्तवमा भन्ने हो भने यहाँ बसपार्क नबनेर मानवीय अधिकार नै हनन् भइराखेको छ ।’

    प्रतिनिधि सभामा नेकपा एमालेकी विद्या भट्टराई र नेकपा समाजवादीबाट श्रीनाथ बराल सोही क्षेत्रबाट उठेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका विन्दुकुमार थापा र नेकपा एमालेकी मीना गुरुङ चुनावी मैदानमा छन् ।

    यसअघि उक्त क्षेत्रबाटै चुनाव जितेर कांग्रेसका महादेव गुरुङ, स्व. रवीन्द्र अधिकारी पर्यटनमन्त्रीसमेत भए । अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सोही ठाउँमा विद्या भट्टराईले जितिन् । प्रदेशतर्फ त्यही क्षेत्रबाट विन्दुकुमार थापा चुनाव जितेर कानुनमन्त्रीसम्म भए । अहिले फेरि सोही क्षेत्रमा दोहोरिन भट्टराई र थापा प्रयत्नरत छन् ।

    यहाँसम्म कि हाल प्रदेशको मन्त्रीसमेत भइसकेका विन्दुकुमार थापाले २०७१ सालमा ‘बसपार्क निर्माण सरोकार समिति’का नाममा तत्कालीन पोखरा उपमहानगरलाई ज्ञापनपत्र पनि बुझाएका थिए । ‘तर, पछि उहाँ आफू जितेर गइसकेपछि काम गर्नुहोला भनेको वास्तै गर्नुभएन,’ स्थानीय गुनासो गर्छन् । 

    #अनलाईनखबरबाट

    बुधवार, कार्तिक १६ २०७९०२:१२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend