तोलाकान्त बगाले
वालिङ, २५ कात्तिक ।
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाईते भएका छन् । स्याङ्जाको वालिङ १४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाईते भएका हुन् । वालिङ १४ का वडा अध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ १२ का किसान न्यौपाने, वालिङ १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाईते हुनुभएको हो ।
कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाईते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा पराजुली र लक्ष्मी पराजुली घाईते हुनुभएको हो । घाईते हुनुभएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ । न्यौपानेको छाति तथा पाखुराहरुमा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाईते भएका तीन जनालाई उपचारकालागि गह«ौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात थप उपचारकालागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको अस्पतालका बरिष्ठ ल्याब अधिकृत ईश्वर कोईरालाले जानकारी दिनुभयो ।
चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ । अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र ईलाका बन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।