भदौ ३१, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नयाँ बन्न लागेको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
गल्याङ नगरपालिका वडा नम्बर तीन साविकको विपिसी खेल मैदान र युवा क्लबको खेल मैदानमा बन्न लागेको भवनको शिलान्यास कार्यक्रममा नगरप्रमुख अधिकारीले विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा नगरपालिका क्रियाशिल रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘झोलामा लेटेरप्याड र छाप लिएर मैले नगरपालिकाको काम सुरु गरेको थिएँ, लामो कसरत पछी भवन बनाउन सुरु भएको छ । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’
नगरप्रमुख अधिकारीले बाटो निर्माण तथा कृषिका क्षेत्रमा नगरपालिकाले विभिन्न कामहरु गरिरहेको स्पष्ट पार्नुभयो ।
केही व्यक्तिको सोचाईमा नकारात्मक मात्रै भएको टिप्पणी गर्दै नगरप्रमुख अधिकारीले विकास निर्माणका कामहरु गर्दा भ्रष्टाचारलाई सँगै जोडिने गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो –‘यही भवन निर्माणका लागि पनि टेण्डर प्रक्रियाबाट सबै भन्दा कम मुल्यलाई पर्ने हुन्छ, हाम्रो कुनै भूमिका हुँदैन ।’
जनताले दिएको भोटलाई भ्रष्टाचारसंग आफुले कहिल्यै साट्न नसक्ने भन्दै नगरप्रमुख अधिकारीले एक रुपैयाँ हिनामिना गरेको प्रमाण सहित कसैले देखाउन सकेमा आफुले राजनीति छोड्ने चुनौति दिनुभयो ।
विकास निर्माणमा जनसहभागिता र नगरपालिकाबाट भइरहेका योजनाबाट अत्तालिएर केही व्यक्ति तथा समूह निष्कृष्ट रुपमा प्रस्तुत भैरहेको भन्दै उहाँले सहकार्य गरेर विकास निर्माणमा सहभागी हुन आग्रह गर्नुभयो ।