मंसिर २७, वालिङ । लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला शाखा स्याङ्जाको आठौं जिल्ला अधिवेशन हुँदैछ । बुधबार वालिङमा हुने २१ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष ऋषिराम डुम्रेले जानकारी गराउनु भएको छ ।
यस अघि प्रतिष्ठानको सातौं अधिवेशन २०७६ साउन १८ गते भीरकोट नगरपालिकाको बयँरघारीमा भएको थियो । “हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मूल नारासहित आगामी तीनवर्षे कार्यकालका लागि प्रतिष्ठानको आठौं अधिवेसन हुने भएको हो ।
राष्ट्रिय कलाकारहरुको उपस्थितिमा विशेष सांगीतिक कार्यक्रमसहित अधिवेशन सम्पन्न गरिने अध्यक्ष डुम्रेले बताउनुभयो ।
अध्यक्ष डुम्रेका अनुसार प्रतिष्ठानको तीन महिना पहिला नै गर्नुपर्ने केन्द्रीय सर्कुलर भएपनि प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलगायतका प्राविधिक कारणले पछि सरेको हो ।
जिल्लामा ९१ जना आजीवन सदस्य रहेका छन् । वरिष्ठ उपाध्यक्ष नेत्र खड्काका अनुसार आठौं अधिवेसनका लागि २ सय ५५ जना साधारण सदस्य छन् । प्रतिष्ठानका आजीवन सदस्य, सल्लाहकार, साधारण सदस्यलगायत सम्बन्धित क्षेत्रमा जानकारी तथा निमन्त्रणासहित पत्राचार गरिसकिएको सचिव राजेश भण्डारीले जानकारी गराउनुभयो । सबैको हातमा पत्र पुर्याउन नसके पनि सामाजिक सञ्जाल फेसबुुक पेज र म्यासेन्जरका माध्यमबाट जानकारी गराइएको सचिव भण्डारीले उल्लेख गर्नुभयो । आठौं जिल्ला अधिवेसनमा जिल्लामा स्थापना गरिने कलाकार कल्याणकारी कोषको घोषणासमेत गरिने अध्यक्ष डुम्रेले बताउनुभयो ।