मंसिर २७,पाल्पा । पाल्पाको रामपुरमा केहि समयदेखि विवादका कारण रोकिएको कालिगण्डकी करिडोर सडकको काम सुरु भएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेकोे कालिगण्डकी करिडोर सडक योजना अन्तर्गत विवादका कारण रोकिएको रामपुर ५ मटेरी क्षेत्रमा सडक निर्माण सुरु भएको हो ।
सार्वजनिक जग्गा संरक्षण पक्ष र घर जग्गा पर्ने पक्ष बीच कुरा नमिल्दा सडक निर्माणको काम हुन सकेको थिएन । झण्डै ३ वर्षदेखि विवादका कारण निर्माण हुन नसकेको सडक रामपुर नगरपालिकाको पहलमा सोमबारदेखि सुरु गरिएको छ । विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिए संँगैसडक निर्माणको काम सुचारु भएको हो ।
विभिन्न योजना सञ्चालनमा समेत वाधापुग्ने भएकाले नगरपालिकाले अवरोध हटाउन पहल गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । सार्वजनिक जग्गा छुट्याई वडा नंं ५ को मटेरीमा सडक निर्माण थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-“नगर भित्र राष्ट्रिय गौरव , नगर गौरव र वडा गौरवका योजना सञ्चालन गर्दा कहीँ कतै अवरोध आए त्यो नगरपालिकाले हटाउँछ” ।
नगर प्रमुख थापाले कुनै डर संकोच विना निर्धक्क संग काम सम्पन्न अगाडि बणउन आग्रह गर्नुभयो । उहाँले योजना सञ्चालनमा बाधा पुर्याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचना समेत हटाउने प्रतिवद्धता व्यक्त गर्नुभयोे ।
नगर प्रमुख थापाले योजना सञ्चालन गर्दा अवरोध हुने संरचना हटाएर नगरको विकासमा सहयोग गर्न नगरबासीलाई आग्रह गर्नु भयो । सडक निर्माण कार्यले निरन्तरता पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।