असोज १, वालिङ स्याङ्जा , स्याङजाको वालिङमा आप्रवासी श्रोत उप–केन्द्रको स्थापना भएको छ । वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रोत उप–केन्द्रको स्थापना गरिएको हो ।
बिहीबार पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका नगरप्रमुख द्वयले संयुक्त रुपमा आप्रवासी श्रोत उप–केन्द्रको उद्घाटन गर्नुभएको हो । इलाका प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत उप–केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरुलाई कसरी वैदेशिक रोजगारीमा जाँदा सुरक्षित भइन्छ भन्ने विषयमा परामर्श दिने, वैदेशिक रोजगारीमा जाने इच्छुक व्यक्तिहरुलाई निःशुल्क तालिमका लागि सिफारिस गर्ने, वैदेशिक रोजगारीमा अप्ठ्यारो परेकालाई कानुनी सहायताका लागि सहजिकरण गर्ने लगायतका काम गर्नेछ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना (सामी) परियोजनाअन्तर्गत राहदानी बनाउन इलाका प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानूनी सेवा र फर्किएका युवाका लागि सामाजिक पुनस्र्थापना लगायतका कार्यक्रम सञ्चालन गरिने सामी हेल्भेटास परियोजनाका गण्डकी प्रदेश संयोजक उमा शर्माले जानकारी दिनु भयो ।आप्रवासी श्रोत उप–केन्द्रले उहाँले वैदेशिक रोजगारमा जाने कामदार र तिनका परिवारलाई सहि सुचना प्रवाह गर्ने समेत शर्माले बताउनु भयो ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यान्वयनका क्रममा स्याङ्जाको पुतलिबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना लागू भएको हो ।