पौष ७,वालिङ । रोटरी क्लव वालिङले न्यानो कपडा वितरण गरेको छ । क्लवले स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपाल बालगृहमा न्यानो कपडा वितरण गरेको हो ।विभिन्न सामाजिक काममा संलग्न रोटरी क्लवले अमोर सेवा नेपालमा रहेका ३० जना बालबच्चाहरुको लागि न्यानो कपडा वितरण गरेको हो ।
न्यानो कपडा वितरण गर्दै रोटरी क्लव वालिङका वर्ष २०२२÷२०२३ का अध्यक्ष सीता पाण्डेय डुम्रेले रोटरी क्लवले विभिन्न सामाजिक कामहरु गरेको उल्लेख गर्दै असहाय बालबालिकाहरुको लागि न्यानो कपडा वितरण गरेको बताउनुभयो ।

उहाँले रोटरी क्लवले शैक्षिक,सामाजिक,स्वास्थ्य लगायतका क्षेत्रमा कामहरु गरेको बताउँदै असहाय नागरिकको सेवाको लागि रोटरी क्लव सदैव तत्पर रहेको जानकारी दिनुभयो ।अध्यक्ष डुम्रेले भन्नुभयो–‘सामाजिक कार्यहरुमा अग्रणी दायित्व निभाएको रोटरी क्लव असहाय नागरिकको सेवाको लागि सदैव तत्पर छ ।’
अध्यक्ष डुम्रेले रोटरी क्लव वालिङको पहलमा वालिङमा मृगौला रोगीहरुको लागि निःशूल्क डायलासिस सेवा सञ्चालन भैरहेको जानकारी दिँदै सामाजिक कार्यमा सबैले हातेमालो गरेर अगाडि बढ्न सके असहायहरुको लागि सहारा बन्न सकिने बताउनुभयो ।उहाँले भन्नुभयो–‘सामाजिक कार्यमा सबैले हातेमालो गरेर अगाडि जानु आवश्यक छ । व्यक्ति व्यक्तिले स–सानो सहयोग जुटाउँदै जाने हो भने निमुखा तथा असहाय वर्गको सेवा गर्न सहज छ ।’

न्यानो कपडा ग्रहण गर्दै अमोर सेवा नेपाल बालगृहकी अध्यक्ष कमला पराजुलीले सहयोगको लागि रोटरी क्लव वालिङलाई धन्यवाद दिँदै सामाजिक कार्यहरुमा अगाडि बढेको क्लवलाई नागरिकले दुखको सहाराको रुपमा सम्झने उल्लेख गर्नुभयो ।मुठीदानबाट सञ्चालन भैरहेको बालगृहमा फराकिलो मन भएका दाताहरुको सहयोगबाट नै बालबालिकाहरुको पालनपोषण संभव भएको अध्यक्ष पराजुलीले उल्लेख गनुर्यभयो ।सन् २०१६ मा वालिङमा स्थापना भएको रोटरी क्लव अफ वालिङले विद्यालयहरुमा किशोरी मैत्री वातावरणमा शैक्षिक क्रियाकलापमा सहयोग,वातावरणीय संरक्षणको लागि वृक्षारोपण कार्यक्रम, लैङ्गिक समानताको कार्यक्रमहरु गर्दै आएको छ ।त्यस्तै फरक क्षमता भएकाहरुको लागि ह्विलचेअर प्रदान, रक्तदान ,विभिन्न समयमा स्वास्थ्य शिविरहरु सञ्चालन, घरेलु हिंसा तथा लागू पदार्थ दुव्र्यसनी विरुद्धका कार्यक्रम लगायतका कामहरु गर्दै आइरहेको छ ।