पौष १२,वालिङ । नियमनकारी निकायले जिम्मेवारी वहन गर्न नसक्दा सहकारी खुल्ने र बन्दहुने अवस्था आएको वालिङ नगर प्रमुख कृष्ण खाँडले बताउनुभएको छ । नगर प्रमुख खाँडले नियमनकारी निकायले फितलो अनुगमन र जिम्मेवारी वहन गर्न नसक्दा धेरै सहकारीहरु खुल्ने र वन्दहुने अवस्था आएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो—“वालिङ नगरपालिकामा मात्रै सयभन्दा धेरै सहकारी संस्था रहेकामा पचासको हाराहारीमा मात्र क्रियाशील छन् । यसरी सबै क्रियाशील अवस्थामा नहुनु नियमनकारी निकायले जिम्मेवारी वहन गर्न नसक्नु मुख्य कारण हो ।”
वित्तीय संस्थामा आर्थिक परिचालन र पारदर्शिता महत्वपूर्ण हुन्छ, यसमा ध्यान दिन नसक्दा पनि कतिपय सहकारीहरु वदनामी र धरासायी हुन पुगेका नगर प्रमुख खाँडको भनाई छ ।
मङ्गलबार उपकार बचत तथा ऋण सहकारी संस्थाको ३० औं इकाई वार्षिक साधारणसभामा सम्वोधन गर्दै नगर प्रमुख खाँडले समाज परिचालनमा आर्थिकले ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले सहकारीमा सोझासाझा र निमुखा नागरिकहरुको सहभागिता रहने भन्दै उनिहरुलाई उत्पादनका क्षेत्रमा लाग्न प्रेरित गर्दै आयआर्जनमा अग्रसर हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर जिल्लाका सहकारी संस्था सञ्चालक तथा संबन्धित पक्षसँग नगरपालिकाले छलफल गर्ने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा नगर प्रमुख खाँडले जन प्रतिनिधी कहाँ छन् र के गरिरहेका छन् भन्ने नगरवासीहरुमा परेको उल्लेख गर्दै नगरको सम्भाव्यता हेरेर योजना परिचालन गर्न लागेको बताउनुभयो । योजना बनाएर प्राथमिकताका आधारमा काम गर्ने तयारीमा लागिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ३० औं इकाई वार्षिक साधारणसभा १० गते आइतबारदेखि सुरु गरेको हो । सुरुका दिन चापाकोटको दामाचौर सेवाकेन्द्र र वालिङ ७ को केवरेमा इकाई साधारणसभा गरेको थियो । यसैगरी ११ गते सोमबार कालिगण्डकीको मिर्मी सेवाकेन्द्रमा सम्पन्न गरेको छ । १२ गते मङ्गलबार वालिङ ८ को वालिङ बजार र वडा नम्वर १३ को बायँटारी सेवाकेन्द्रमा इकाई साधारणसभा गरेको हो ।
१४ गते विहिबार मुख्य कार्यालय वालिङमा इकाई प्रतिनिधिहरुको सभा तथा समापन कार्यक्रम गरी साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले जानकारी गराउनुभयो ।
कार्यक्रममा असल कारोवार गर्ने शेयर सदस्य, नियमित बाल बचत गर्ने बालबालिका र उत्कृष्ट सेवा गरे वापत कर्मचारीहरुलाई पुरस्कृत तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।