Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा बस्ती विस्थापन अध्ययनका लागि समिति गठन

वालिङमा बस्ती विस्थापन अध्ययनका लागि समिति गठन

  • PNN Times
  • मंगलवार, आश्विन ६ २०७७


  • वालिङमा  बस्ती विस्थापन अध्ययनका लागि समिति गठन

    असोज ६, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्नका लागि अध्ययन समिति बनाएर काम थालेको छ । नगरपालिकाका १४ वटा वडामा बाढी पहिरोका कारण जोखिममा परेका बस्तीहरु विस्थापित गर्नुपर्ने वा नपर्ने त्यसको अध्ययन गरी नगर कार्यपालिकामा प्रतिवेदन बुझाउन भनिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । 
    “नगरपालिकाकाभित्रका १४ वटा वडाबाट जोखिममा परेका घरपरिवारबाट निवेदनहरु प्राप्त भईरहेका छन्” नगर प्रमुख खाँणले भन्नुभयो, “प्राप्त निवेदनहरुका आधारमा समितिले भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि एक महीनाको समयावधि दिएका छौं” ।
    अध्ययन समितिले विस्थापित गर्नैपर्ने बस्तीहरु र तिनीहरुलाई विस्थापित गर्नुपर्ने संभावित सुरक्षित स्थानको खोजी गरी नगर कार्यपालिकामा प्रस्ताव गर्ने नगर प्रमुख खाँणले बताउनुभयो । प्रस्तावित बस्ती तथा जग्गाहरुको भूगर्भविदहरुको सहयोगमा नगरपालिकाले अध्ययन गरेर आवश्यक निर्णय लिने नगर प्रमुख खाँणको भनाई थियो ।

    “भूगर्भविदको भौगोलिक अध्ययनपश्चात उनीहरुले दिएको प्रतिवेदनका आधारमा पायक पर्ने स्थानमा एकीकृत बस्ती बसाल्छौं” नगर प्रमुख खाँणले भन्नुभयो । नगर कार्यपालिकाको ५७ औं बैठकले बाढी पहिरोको कारण जोखिममा परेका बस्तीहरुको भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि वडा नं. १३ का अध्यक्ष आनन्द पाठकको संयोजकत्वमा ईञ्जिनियरसहितको आठ सदस्यीय समिति बनाएको छ ।गठित समितिले प्राकृतिक विपदमा परेका बस्तीहरुमा पुगेर त्यहाँको बस्तुस्थिति बुझ्ने र सिफारिस गर्ने समिति संयोजक पाठकले बताउनुभयो ।

    images

    “नगरका १४ वटै वडामा कहाँ कहाँ विपदका कारण बस्तीहरु जोखिममा छन् त्यसको अवलोकन निरीक्षण गर्छौं” संयोजक पाठकले भन्नुभयो, “बस्ती सार्नै पर्ने अवस्था देखिएमा समाधानका लागि विकल्प दिने गरी काम गर्ने छौं” ।
    जोखिममा रहेका बस्तीहरुमा रहेका घर परिवारको आफ्नै जग्गा भए ब्यवस्थित गर्ने र नभएमा पायक पर्ने स्थानमा जग्गा खोजेर ब्यवस्थापन गर्नका लागि सिफारिस गर्ने संयोजक पाठकको भनाई थियो ।


    नगरपालिकाका १४ वटै वडामा एकसयभन्दा बढी घरहरु जोखिममा परेको हुनसक्ने भएपनि यथार्थ विवरण भने आईनसकेको विपद ब्यवस्थापन शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताउनुभयो ।

    मंगलवार, आश्विन ६ २०७७०८:०८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend