पाल्पाको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको बताउनु भएको छ ।
बुधबार सम्पन्न एकदिने अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख थापाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको बताउनु भएको हो ।
उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको सही सदुपयोग हुन नसकेको बताउँदै परिमार्जन गर्न आवश्यक रहेको औँल्याउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम आय आयमूलक र सीपमूलक हुनु पर्ने नगर प्रमुख थापाको भनाई छ ।
संघीय सरकारबाट आएको बजेट मार्फत सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकार सँग समन्वय र लागत सहभागितामा गर्ने गरी दीर्घकालिन योजना बनाएर अगाडि बढ्न सके प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । साथै नगर भित्रका हरेक वडाले वेराजगार सूचीमा भएका युवाहरुको सहभागितामा उत्कृष्ट काम गर्न नगर प्रमुख थापाको आग्रह छ ।
यस्तै नगर उपप्रमुख बालकुमारी थापाले वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा यसको प्रभावकारीताका लागि वडा अध्यक्ष र वडा सचिवको मुख्य भूमिका हुने भएकाले सही योजना र जनशक्ति छनौट गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।