चैत्र १,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकामा पशु पूर्ण खोप कार्यक्रम सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजनामा वालिङ नगरपालिकामा पूर्ण खोप सेवा सुरु भएको हो ।
कार्यक्रमको सुरुवात गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले पशुजन्य रोगहरु नियान्त्रणको लागि खोप कार्यक्रम सार्थक तथा आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायिक तथा घरायसी रुपमा पालिएका पशुहरुमा विभिन्न रोगहरु देखिएकोले पूर्ण मात्राको खोप कार्यक्रमबाट रोग नियन्त्रण तथा व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुले सफलता हासिल गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरभित्र व्यवसायिक रुपमा पालिएका पशुहरुमा बेलाबखत पशुजन्य रोगहरुको महामारी देखिँदै आएकोमा पूर्ण खोप अभियानले पशु स्वास्थ्यमा सुधार आउने उपप्रमुख तिवारीले उल्लेख गर्नुभयो ।कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख इन्द्र बहादुर भट्टले वालिङ नगरपालिकाका १४ वटै वडाहरुमा रहेका पशुहरुलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले आ.व.२०७९/०८० को अवधिमा स्याङ्जाका दुई पालिकाहरु भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा पूर्ण खोप कार्यक्रम लागू गरिएको बताउनुभयो । प्रमुख भट्टका अनुसार वालिङ नगरपालिकामा रहेका पशुहरुको संख्या र अवस्थाको विवरण सङ्कलन गरिसकिएको छ ।