Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पहिरोले पुरिएर स्याङ्जामा दश जनाको मृत्यु

पहिरोले पुरिएर स्याङ्जामा दश जनाको मृत्यु

  • PNN Times
  • बिहिवार, आश्विन ८ २०७७


  • पहिरोले पुरिएर स्याङ्जामा दश जनाको मृत्यु

    असोज ८   स्याङ्जा ।  पहिरोमा पुरिएर बिहीबार स्याङ्जामा दश जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ को तमादी र कालीगण्डकी गाउँपालिका ४ को गौतमटोलमा गरी दश जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
    बिहान ६ बजे वालिङ १४ तमादी बस्ने माया नेपालीको घरमाथिबाट पहिरो आई घर र गोठ पुरिँदा नौ जनाको मृत्यु भएको हो । 
    प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीय सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली र ६÷७ महिनाका एक बालक रहेका छन् । 

    एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु, स्थानीयहरुले बिहानैदेखि उद्दार कार्य गरेका थिए ।

    images

    गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीनदिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ गौतम टोलका १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

    गौतम टोलका मानबहादुर दमाईको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका विष्णु दमाईको पुरिएर मृत्यु भएको हो । स्थानीयबासी, विर्घा प्रहरी चौकीका प्रहरी, समाजसेवीहरुको पहलमा पहिरोमा पुरिएका दमाईको शव बिहान साढे ५ बजे निकालेका थिए ।

    बिहिवार, आश्विन ८ २०७७०१:५५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend