चैत्र २१,वालिङ ।
स्याङ्जाको विकट पालिका भनेर चिनिने हरिनास गाउँपालिका कालोपत्रेसहितको सडक सञ्जालमय बन्दै छ । जिल्लाको पूर्वी भेगमा अधिकांश पहाडी भूभाग रहेको हरिनास गाउँपालिका कालोपत्रेसहितको सडक विस्तारसँगै यातायातका हिसावले सुविधाजनक बन्ने छ । पालिकाको कार्यालय रहेको चुलिडाँडालाई जोड्नेगरी विभिन्न स्थानबाट सडक कालोपत्रेको कामले तिब्र गतिमा अगाडि बढेको छ । यो आर्थिकवर्षभित्र ५६ किलोमिटर सडक कालोपत्रे हुने गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी गराउनुभयो । अध्यक्ष मानन्धरका अनुसार विभिन्न स्थानका गरी कूल १ अर्ब ७४ करोडमा सडक कालोपत्रेको काम भैरहेको छ ।
संघीय तथा प्रदेश सरकारको बजेटमा पालिकाका ५ स्थानबाट कालोपत्रेको काम अगाडि बढाईएको हो । अघिल्लो सरकार भएकाबेला विशेषगरी संघीय सरकारका मन्त्री पद्मा अर्याल र गण्डकी प्रदेश सरकारका मिन गुरुङको पहलमा बजेट विनियोजन भई काम अगाडि बढेको पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।
संघीय सरकारले गाउँपालिकालाई कालेपत्रेले जोड्ने कार्यक्रम अन्तर्गत राते पहाडदेखि चित्रे हुँदै गिरकोटसम्म काम भैरहेको छ । यो सडकमा १० किलोमिटर पीच हुदैछ । यो सडक ३० करोडमा टेण्डर भई काम सुरु गरिएको हो ।यसैगरी तनहुँको साँखेखोलामा पुलसहित चिसापानी हुँदै गाउँपालिकाको केन्द्र चुलीडाँडासम्म कालोपत्रेको काम चलिरहेको छ । यो सडक प्रदेश सरकारको ६२ करोडको लागतमा गरिएको हो । पक्की पुलसहित १६ किलोमिटर सडक पीच हुँदैछ ।
यस्तै एक प्रदेश एक बाटो अन्तर्गत घुम्ती चिसापानीहुँदै चित्रे सडकको काम भैरहेको छ । काउले खुदी सालडाँडा खण्डको ९ किलोमिटर सडक ४० करोडको लागतमा कालोपत्रेको काम सम्पन्न हुँदैछ ।
भिमादको बाघटारदेखि राङरुङ हुँदै राम्चेसम्म १६ किलोमिटर सडक २९ करोडको लागतमा भैरहेको छ । यो प्राधिकरणको बजेटमा गरिएको हो ।गाउँपालिकाले टेण्डर गरेकोः क्याक्मीदेखि कोइरालेहुँदै दोभानसम्म ५ किलोमिटर कालोपत्रे करिव १३ करोडमा ठेक्का भई निर्माण सम्पन्न हुने चरणमा छ ।
यसकासाथै बाँकी ग्रामिण सडकहरुलाई पनि नाली र ग्राभेलसहित व्यवस्थित गर्ने काममा पालिका लागेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।