चैत २२,वालिङ ।
सरकार परिवर्तन र अघिल्ला सरकारले ल्याएका योजनालाई प्राथमिकता नदिइदा स्थानीयस्तरका पूर्वाधार विकासका कामहरु प्रभावित भएका छन् । यसलाई राजनीतिक कठिनाईंका रुपमा लिन सकिन्छ । स्याङ्जा जिल्लाको दक्षिण पूर्वी भेगमा पर्नेे बिरुवा गाउँपालिका पनि यसको शिकार बन्न पुगेको छ । ग्रामिण भेगमा पर्ने र राजमार्गदेखि टाढा रहेको पालिकामा सरकार फेरिएसँगै पूर्वाधार विकासका काम अगाडि बढ्न कठिनाईं भएको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरको गुनासो छ । विशेषगरी अघिल्ला सरकारले प्राथमिकतामा पारेका योजनालाई वेवास्ता गरिनु मुख्य कारक बनेका छन् ।
मुख्यगरी कृषि, खानेपानी तथा सडकका क्षेत्रमा बहुवर्षीय योजनाका बजेट कटौतिले अफ्ठ्यारोमा पारेको अध्यक्ष कुँवरको भनाई छ । राङ्खोला धोवादी खण्ड जिल्ला सदरमुकामसँग जोड्ने मुख्य सडक हो । यो सडकको स्तरोन्नतिसँगै बहुवर्षीय योजनामा ३० करोडको लागतमा काम हुने तयारीमा छ ।
पालिकाको केन्द्र बिरुवा बजारदेखि मनकामना हुँदै वालिङ नगरपालिकासँग जोड्ने अर्को अन्तरपालिका सडक हो । रणनीतिक योजना अन्तर्गत अन्तरपालिका जोड्ने सडक पनि हो यो । यो सडकबाट धेरै नागरिकहरु लाभान्वित हुनुकासाथै पालिकालाई सिद्धार्थ राजमार्गसँग जोडिन सहयोग पुग्छ । यो सडकको स्तरोन्नतिसँगै बास्तराखोलामा पुल बन्न आवस्यक छ । गतवर्ष पुल निर्माणसहित सडक विस्तारको लागि काम गर्ने भनिए पनि प्रदेश सरकारबाट प्राथमिकतामा नपारिएको अध्यक्ष कुँवरको भनाई छ । सरकार फेरिएसँगै अलपत्र छ ।यसरी पालिकाको पहिलो समस्या सडक नै हो । सडक स्तरोन्नतिलाई प्रदेश र संघ सरकारबाट प्राथमिकता दिइनुपर्छ ।खानेपानीको क्षेत्रमा पालिकाका स—साना योजना मार्फत अधिकांश टोलमा व्यवस्थापन भएको छ ।
ठूला योजनालाई प्रदेश र संघ सरकारसँग समन्वय गरी अबको ५ वर्षमा समाधान गर्ने लक्ष्य लिएको अध्यक्ष कुँवरको योजना छ ।