चैत्र २५,वालिङ ।
शनिबार स्याङ्जाको वालिङमा दुइवटा कृति लोकार्पण गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियान स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोकार्पण गरिएको हो । वालिङ— ८, निवासी युवाकवि युवराज सुवेदीको “पृथक पाइला” मुक्तक संग्रह र “शान्तिदूतको अग्नीपथ” कविता संग्रहको लोकार्पण गरिएको हो । देशभक्तिपूर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकारात्मक सन्देश तथा लेखकले आफ्ना जीवनको अनुभव र अनुभूति आफ्ना संग्रहमा समावेश गर्नुभएको छ ।
कृतिको लोकार्पण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाषा र साहित्यको लागि उर्वर भूमि रहेको बताउनुभयो । उहाँले पछिल्लो समय युवाहरु जागरुकताका साथ साहित्यमा लागिपरेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वति तिवारीले साहित्य समाजको ऐना भएकाले समाजलाई सुसंस्कृत बनाउनका लागि साहित्यिक कलमहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा सिक्किमबाट आउनुभएका कवि जिविका खतिवडा अश्रु, काठमाडौबाट आउनुभएका कवि लक्ष्मण वियोगी र तुल्सीराम पुडासैनी, पोखराबाट आउनुभएका कवि लक्ष्मण थापालगायत जिल्लाका वरिष्ठ साहित्यकारहरुले रचना वाचन गरेका थिए । आगन्तुक साहित्यकारहरु सहित स्मारिका अर्याल, सिजन अर्याल,गीता पाठक, मनिषा कोइराला, बावुराम रेग्मी, रामचन्द्र भट्टराई, कमलप्रसाद बगाले, आस्था पराजुली, ध्रुवप्रसाद शर्मा पंगेनीले आ—आफ्ना रचना वाचन गरेका थिए ।
पृथक पाइला मुक्तकको साहित्यकार बसन्त खनाल र शान्तिदूतको अग्निपथ कविताको साहित्यकार शम्भु अर्यालले टिप्पणी गर्नुभएको थियोे ।