जाेगराज पाठक
९ जेठ, वालिङ
नेपाल सरकारका पूर्व मन्त्री पद्मा कुमारी अर्यालले जीवनसँगै देश समृद्धिका लागि उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । आइतबार स्याङ्जाको वालिङ १३ स्थित पाठखोलामा रातो तथा अन्य च्याउ सम्बन्धी एक दिने निःशुल्क व्यवसायिक सिपमूलक तालीमको शुभारम्भ गर्दै पूर्वमन्त्री अर्यालले देश समृद्धिका लागि उत्पादनमा जोडिनुपर्ने बताउनु भएको हो ।
पूर्वमन्त्री अर्यालले बजारको माग र आवस्यकतालाई हेरेर उत्पादनमा लाग्यौं भने हामी आर्थिकरुपमा समृद्ध हुन सकिने उल्लेख गर्नुभयो । हामी श्रमजीवि हौं, श्रम गर्न लाज होइन उत्साही हुनुपर्ने उहाँको भनाई छ । देश र जीवनलाई समृद्ध बनाउन काम गर्नुपर्ने भन्दै पूर्वमन्त्री अर्यालले काम गर्ने दुःखीले हो भन्ने मानसिकता तोड्नुपर्नेमा जोड दिनुभयो । सानो सानो कामबाट नै ठूलो उपलव्धीको बाटो निर्धारण गर्छ । सिपमूलक तालीमसँगै काम गरेर समृद्धि प्राप्त गर्न सकिन्छ र यस्ता गाउ ठाउँमा सहजै गर्न सकिने व्यवसाय समृद्धिका आधार भएको पूर्वमन्त्री अर्यालले औंल्याउनुभयो ।
गरेर खानुपर्छ भन्ने विषयमा बोध गराउने व्यावसायिक मानसिकताको विकासले जीवन बदल्न सकिने उहाँको भनाई छ ।वालिङ नगरपालिका वडा नम्वर १३ को जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई तालीम प्रदान गरेको हो ।
महिलाहरुको बाहुल्यता रहेको तालीममा ७५ जना सहभागी भएका थिए । भैरव च्याउ उद्योग तानसेन पाल्पाको प्राविधिक सहयोगमा सहकारीले तालीमको आयोजना गरेको हो । सहजकर्ताको भूमिकामा रहनुभएका च्याउ उद्योगका केशव बहादुर कार्कीले बजारीकरणकोसमेत जिम्मा लिने विश्वास व्यक्त गर्नुभयो ।