वालिङ
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा कुमारी अर्यालले हामीले खोजेको सांस्कृतिक पहिचान भएको बताउनुभएको छ । शनिबार लोकतान्त्रिक आदिवासी महासंघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशनमा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले जातीय पहिचान भन्दा पनि सांस्कृतिक पहिचान हामीले खोजेको बताउनुभएको हो । कतिपय जातीय पहिचानसहित प्रदेशको नामाङ्कन हुनुपर्ने आवाज उठ्ने गरेका छन् । हामीले सांस्कृतिक पहिचानका कुरा गर्नुपर्ने उहाँले औंल्याउनुभयो । अहिले कोशी प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनुपर्ने भन्दै केही समूह सडकमा आएको उल्लेख गर्दै केन्द्रीय सचिव अर्यालले यसमा सत्तापक्षबाट उक्साइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । सोझा साझा युवालाई उचालेर द्वन्द सिर्जना गराउने काम भएको छ । यसले अस्थिरता सिर्जना गराउने काम मात्रै भएको र यो राम्रो नभएको उहाँको भनाई छ । विश्वका धेरै मुलुकमा जाति र भाषाकारुपमा विभाजन गरेका व्यवस्था टिक्न नसकेको केन्द्रीय सचिव अर्यालले उल्लेख गनुभयो ।जातीय आन्दोलन पारलाग्ने कुरा नभएको र वर्गीय आन्दोलनबाट मात्रै जातीय आन्दोलन सफल हुने पूर्वमन्त्री अर्यालको तर्क छ ।
नेकपा एमालले हिजदेखि उठाएको मुद्दा वर्गहितका कुरा हुन् । जबसम्म यो मुलुकमा वर्गीय मुक्ति हुँदैन, तवसम्म जातीय मुक्ति नहुँने उहाँको भनाई छ । यसको नेतृत्व नेकपा एमालेले गरेको छ, जाति भन्दा पार्टी ठूलो हो, राज्य सञ्चालनको ठाउँमा पु¥याउने नेकपा एमाले भएको जिम्मेवारीसहितको उपस्थितिले देखाएको पूर्वमन्त्री अर्यालले उल्लेख गर्नुभयो ।
अधिवेशनले देउकुमारी गुरुङको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा टेकबहादुर दर्लामी, सचिव लक्ष्मी थापा मगर र उपसचिवमा सुमित थापा, सुमन गुरुङ र डम्वर राना तथा कोषाध्यक्षमा बुद्ध बहादुर आले चयन भएका छन् भने बाँकि सदस्यहरु रहेका छन् ।