असार ७, वालिङ ।
स्याङ्जाको हरिनास गाउँपालिकाले असार ५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको केही सदस्यहरुद्वारा विभिन्न सञ्चार माध्यमद्वारा गरिएको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको र त्यसको कुनै औचित्य नरहेको पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताउनु भएको छ ।
पालिकाले पटक पटक राखेको बैठकमा उपस्थित भएर आफ्ना धारणा नराख्ने र बैठकको निर्णयमा हस्ताक्षर पनि नगरेकाहरुले विरोध गर्नुको औचित्य नरहेको अध्यक्ष मानन्धरले बताउनु भएको हो ।
पालिकाले जेठ २५ गते बैठक राखेको थियो, साथीहरु उपस्थित हुनुभयो तर हस्ताक्षर गर्नुभएन । यसैगरी असार ४ गते पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटवारे बैठक राखिएको थियो तर उपस्थित भएर पनि हस्ताक्षर नगर्नेहरुले विरोध गर्नुभएको अध्यक्ष मानन्धरले उल्लेख गर्नुभयो ।
हामी हाम्रो पालिकाको विकास र समृद्धिमा प्रतिवद्ध छौं । पालिकावासीको साथमा साथ र हातमा हात मिलाएर काम गर्न लागिपरेका छौ ं। यसका लागि पालिकाले राखेको बैठकमा कार्यपालिकाका सदस्यहरुले आ—आफ्नो धारणा राख्ने र छलफल गर्नुपर्छ । धारणा नराख्ने र छलफलमा पनि भाग नलिने साथीहरुले विभिन्न सञ्चार माध्यमबाट असन्तुष्टि व्यक्त गरेका अध्यक्ष मानन्धरको भनाई छ ।