असार ११ वालिङ ।
रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार नगर सभा तथा १३ औं अधिवेशन मार्फत आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरिएको हो ।नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्नु भएको थियो ।
बजेटमा आयतर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँडफाँटबाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय सशर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) १ करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँट ८७ लाख १६ हजार ३ सय ४८, प्रदेश समपुरक १ करोड ५० लाख, प्रदेश ससर्त १ करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ ५ करोड ५० लाख, अल्या १ करोड ६३ लाख ६५ हजार ६ सय ५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रत्येक वडालाई ४२ लाख विनियोजन गरेको छ ।
त्यस्तै आर्थिक विकास तर्फ १ करोड ९५ लाख ५० हजार, सामाजिक विकास तर्फ ३४ करोड २३ लाख, पूर्वाधार विकास तर्फ ९ करोड ७८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ करोड ९३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन गरेको थापाले जानकारी दिनुभयो । उपप्रमुख थापाले नगरसभामा प्रस्तुत गर्नु भएको विनियोजन विधयेक, आर्थिक विधेयक पारित भएको छ ।
नगरपालिकाले कृषि, पर्यटन संगै पूर्वाधार विकासलाई प्राथमितामा राख्दै १० गते आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको प्रवद्र्धनको लागि खाद्यान्न तथा तरकारीको बीउविजनमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने बताउनुभयो । अण्डा, दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउँदै लगिने, विपन्न परिवारका सदस्यलाई कृषि तथा पशुपंक्षि पालनमा पूर्ण अनुदान उपलब्ध गराईने नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गर्नुभयो । कृषि तथा पशुपालनमा उत्पादन र क्षेत्रफलको आधारमा अनुदानको व्यवस्था गर्ने, आँप लीचि लगाएतका स्थानीय मुख्य कृषि उत्पादन प्रयोग गरी जुस वा कुनै उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन अघि बढाईने नगर प्रमुख थापाले बताउनुभयो ।