प्रेस चौतारी नेपाल स्याङजा शाखाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शाखाले नवौं वार्षिक साधरणसभा तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले सूचना प्रविधिको प्रयोगलाई सहि रुपमा सदुपयोग गरी पत्रकारिता गर्नुपर्नेमा बताउनुभयो । उहाँले बढ्दो प्रविधिको युगमा प्रेस जगतलाई अपडेट गरी आम नागरिक समक्ष जोडिनुपर्नेमा जोड दिनुभयो । साथै पत्रकारले कलम चलाउँदै गर्दा पिडकले सजायँ र पिडितले न्याय पाउनेगरी कलम चलाउन समेत आग्रह गर्नुभयो ।
पूर्वमन्त्री बस्नेतले भन्नुभयो—“आफू सूचना प्रविधिको ज्ञाता नभएको भन्दै एमाले बिरुद्ध मिसन नै चलाएर सूचना प्रविधिको दुरुपयोग गरेर प्रहार गर्न खोजीएको छ, त्यसलाई रोक्न आवश्यक छ ।” सुन काण्डमा एमालेलाई योजनावद्ध रुपमा फसाउने काम गर्न खोजिएकोमा उहाँले अपत्ति जनाउनुभयो । सूचना प्रविधिको गलत प्रयोगले सत्य कुराहरु ओझेलमा पर्छ, यसलाई सहि ढंगको प्रयोगले आम्दानीको स्रोत समेत बन्ने उहाँको भनाई छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सीता सुन्दास, सिमा क्षत्री, केन्द्रीय प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश सञ्चार संयोजक राजीव पहारी, चौतारीका गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष पारस गैह्रे, गाउँपालिका महासंघ केन्द्रका महासचिव खिम थापा, भिरकोट ६ का वडा अध्यक्ष श्यामकाजी क्षत्रीलगायतले बोलका थिए ।
साधारणसभाको अवसरमा प्रेस चौतारी नेपाल स्याङजाका निवर्तमान अध्यक्ष मुक्ति न्यौपानेलाई सम्मान समेत गरिएको थियो ।