Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्रष्टा सम्मानमा प्रतिष्ठानको कदम—“वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझ”

स्रष्टा सम्मानमा प्रतिष्ठानको कदम—“वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझ”

  • गोपाल जिटी
  • सोमवार, भाद्र ११ २०८०


  • स्रष्टा सम्मानमा प्रतिष्ठानको कदम—“वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझ”

    भाद्र ११,वालिङ 

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले स्रष्टा सम्मानमा आफ्नो कदम अगाडि बढाएको छ । लोक तथा दोहोरी गायक गायिका तथा कलाकर्मीहरुको छाता सङ्गठन “राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल” २०५८ सालमा स्थापना भएको हो ।
    प्रतिष्ठानले स्रष्टा सम्मान स्वरुप यही भदौ १५ गते “वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझ” को आयोजना गर्ने भएको हो । देशका अधिकांश जिल्लामा शाखा विस्तार गरेको प्रतिष्ठानले विपतमा परेका कलाकारहरुलाई कलाकार कल्याणकारी कोष मार्फत सहयोगसमेत प्रदान गर्दै आएको छ ।
    “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारालाई आत्मसात गर्दै वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझको आयोजना गरेर प्रतिष्ठानले स्रष्टा सम्मानमा संस्थागत कदम अगाडि बढाएको छ । बिभिन्न अवसर पारेर सम्मान गर्दै आए पनि यसरी स्रष्टाकै सिर्जना र प्रस्तुतिसहितको सम्मानको कार्यक्रम भने यो पहिलो भएको प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरले बताउनुभयो । यो कार्यक्रमबाट बचत हुन आएको रकम संस्थाकै आम्दानीमा रहनेसमेत अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।
    कार्यक्रम भव्यरुपमा सफल पार्न बिभिन्न जिल्ला शाखाहरुसमेत लाागिपरेका छन् । यसैबीच कार्यक्रम सफल पार्न जिल्ला शाखाको तर्फबाट प्रचार प्रसारलाई तीब्रता दिएर लागेको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष नेत्र खड्काले जानकारी गराउनु भएको छ ।
    प्रतिष्ठानले यही भदौ ४ गते काठमाडौमा पत्रकार सम्मेलनको साथमा विज्ञप्ती जारी गर्दै कार्यक्रम आयोजनाको जानकारी गराएको थियो । वरिष्ठ लोक गायक नारायण रायमाझी साङ्गीतिक साँझ काठमाडौको प्रज्ञा भवन कमलादीमा हुदैछ ।भदौ १५ गते दिउँसो १ देखि ७ बजेसम्म चल्ने साङ्गीतिक साँझमा वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष रुपमा प्रस्तुत गर्नुहुने छ ।
    रायमाझी वि.स. २०२० सालमा बुवा सूर्यवहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीका दोस्रो सन्तान हुनुहुन्छ । हाल काठमाडौंलाई कर्मक्षेत्र र बसोबास गर्दै आउनुभएका रायमाझी पाल्पाको माथागढी गाउँपालिका वडा नं. ४ देउवीर,साविकको झडेवा वडा नं. ५ मा जन्मनु भएको हो ।

    ttt.jpg

    वरिष्ठ गायक रायमाझी झण्डै चार दशकदेखि नेपाली लोकगीत, सङ्गीतका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । औपचारिक रुपमा वि.सं. २०४२ सालमा रेडियो नेपालबाट “कारगिल (रेलिमै)” उहाँको साङ्गीतिक यात्राको पहिलो पाहिला हो भने जुन अत्यधिक मन पराइएको गीत हो । यसैगरी २०४५ सालमा सार्वजनिक गरेको ‘छोरीको जुनी’ पहिलो एल्बम हो । योसँगै रायमाझीका दर्जनौं एलबम र सयौं लोक तथा दोहोरीगीतहरु स्रोता तथा दर्शकहरुका मन मनमा बस्न सफल छन् ।
    फुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दीपुल तर्ने, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैचो नदेउ साईली उहाँका चर्चित सिर्जना हुन् । यसैगरी लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हॉसेर बोलीदेऊ माया, सान्नानीले झुक्यायो मलाई लगाएत रायमाझीका सयौं गीत लोकप्रिय छन् ।
    नेपाल टेलिकमको प्रायोजन रहने कार्यक्रममा देशैभरका कलाकर्मी, गीत सङ्गीत क्षेत्रमा रुचि राख्ने तथा लोक कला र संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा क्रियाशिल हजारौं दर्शकहरुको भव्य उपस्थिति रहने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ ।

    सोमवार, भाद्र ११ २०८०११:४२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend