भाद्र १५,वालिङ ।
यो वर्ष तीथिका हिसावले जनै पूर्णिमा र गाइजात्रा देखाउने १४ गते बिहिबार एकैदिन परेपनि वालिङको भूम्रेमा भने भोलिपल्ट अर्थात शुक्रबार देखाइएको छ । गाइजात्रा हेर्न उत्साहजनक उपस्थितिसँगै भूम्रे बजार जात्रामय रौनकता बढाएको छ ।वर्षेनी पूर्णिमाको भोलिपल्ट देखाइने जात्रा शुक्रबार निकालिएको हो ।
विगतका वर्षमा झैं भोलिपल्ट देखाइएको भूम्रे नेवाः समाजका संस्थापक अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताउनुभयो । यहाँ निकालिने बिभिन्न लाखेनाच तथा जात्रा हेर्न वर्षेनी दर्शकहरुको उत्साहजनक उपस्थिति हुनेगरेको समाजका संस्थापक अध्यक्ष श्रेष्ठको भनाई छ । यसपटक पनि जात्रा हेर्नका लागि विगतका वर्षमा झैं दर्शकहरुको निकै भीड लागेको हो ।अब क्रमशः १६ गते शनिबार रोपाईं ( हिले ) जात्रा र १७ गते आइतबार बाधजात्रा देखाइने पनि समाजका संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालका बिभिन्न जातजातिमा विद्यमान संस्कृति नेपाली समाजको मौलिक परम्परा हो । यस्तै नेवार समुदायको मौलिक परम्पराको अर्को महत्वपूर्ण हिस्सामा लाखे नाच पर्दछ ।जिल्लाकै मध्येभागमा रहेको वालिङ क्षेत्रमा परम्परागतरुपमा लाखे नाच नचाइदै आइएको इतिहास छ । यसकासाथै वर्षे समयको उत्तरार्धमा नचाइने र मनोरञ्जनको आकर्षक संस्कृतिमा पर्ने विधा पनि हो । कतिपय स्थानमा यस्ता संस्कृति हराउँदै गएपनि भूम्रे नेवाः समाजले निरन्तरता दिइरहेको छ । परम्परागत संस्कृतिको निरन्तरतासँगै वालिङ आसपासका नागरिकहरुले विशेष अभिरुचिकासाथ हेर्दै आएका छन् ।
यसैबीच नागपञ्चमीका दिन विधिवत पूजा गरेर सुरु गरिएको लाखेनाच हेर्न १४ गते बिहिबार जनैपूर्णिमाका दिन यहाँ दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । योसँगै परम्परागत संस्कृतिप्रति विशेष अभिरुचि रहेको दर्शकहरुको उपस्थितिले देखाएको थियो । विधिवत श्रृङ्गारसहितको शिष्ट र आकर्षक लाखेनाचले दर्शकहरुलाई झुमाएको थियो । पहिला पहिलाजस्तो लडाईं झगडा नहुने र शान्त अनि शिष्टतापूर्वक हेर्न पाइने भएपछि दर्शृकहरुको बाक्लो उपस्थिति हुने गरेको स्थानीयहरु बताउँछन् ।
क्रमशः जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, तीजहुँदै पञ्चमीका दिन विसर्जन गरिने लाखेनाच दैनिकजसो नै देखाइनेसमेत श्रेष्ठले उल्लेख गर्नुभयो ।