यतिबेला महिलाहरुको महान पर्व हरितालिका ( तीज ) को अवसरलाई मध्यनजर गरेर गाइएका गीतहरु गुञ्जिने समय हो । यस अवसर पारेर गाइएका गीतहरु रेडियो तथा टेलिभीजनहरुमा बाक्लोरुपमा बज्न थालेका छन भने युट्युव तथा फेसवुकलगायतका सामाजिक सञ्जालहरु पनि तिनै गीतले भरिभराउ छन् । तीजकै लयमा भन्दापनि झ्याम झ्याम नाच्ने ताल र तीज, रातो सारी र माइतीलगायतका शव्दावली प्रयोग गरेर गाइएका गीतको भीड नै लागेको पाइन्छ । यो बाक्लो भीडमा गायिका सुनिता नेपालीको मै “दुःखी चेली” ले तीजेगीतका पारखीहरुका लागि सुवास छरिरहेको छ ।
कास्कीको पोखरालाई कर्मथलो बनाउदै साङ्गितिक यात्रा अगाडि बढाएकी नेपालीले यो वर्षको तीजको कोशेली स्वरुप “मै दुःखी चेली” सार्वजनिक गरेको बताएकी छन् । स्याङ्जाको वालिङ नगरपालिका ११ पेखुकि नेपालीले विगत एक दशकदेखि पोखरालाई कर्मथलो बनाउदै आएकि हुन् । गायनसँगै नृत्य र अभिनयमा पनि उत्तिकै दक्षता राख्छिन् भन्ने उनको मै दुःखी चेलीले स्पष्ट पारेको छ ।
तीज पर्व र यस अवसरमा गाइने गीतको नेपाली समाजमा आफ्नै मौलिकता छ । गायिका सुनिता नेपालीको मै दुःखी चेली त्यही मौलिकताको डोरो समातेर सार्वजनिक भएको छ । यति धेरै एल्वमहरुको भीडमा तीजगीतका पारखीहरुका लागि नेपालीको सुवासिलो प्रस्तुतिले धेरैको मन जित्न सफल हुने देखिन्छ ।
गीतमा समेटिएका शव्द, अभिनय र दिदी बहिनीहरुको नृत्यसहितको भिडियोले मौलिकपन झल्काएको छ ।
“छैनन् मेरा राता सारी छैनन् हातमा चुरा, कसलाई सुनाई हिंडम मैले बरिलै वेदनाका कुरा” बाट सुरु भएको नेपालीको मै दुःखी चेलीमा नारी वेदनाका भावना समेटिएको छ । नारी संवेदनामा आँधिखोला सरि सलल बहेको गीतमा “तीज आयो न्याउली रोयो यो भदौरे झरिमा, मै रैछु अभागी बरिलै संसार भरिमा” आएर सकिएको छ । वर्षदिनको चाड, भदौरे मौसमको चित्रण अनि नारी वेदनाका अभिव्यक्तिले तत्कालिन समयको तीजगीतको छनक देखिन्छ । र त धेरै दर्शक श्रोताको मन जित्न सफल हुने विश्वास गर्न सकिन्छ ।
अनि फेरि नि पापी तीज आयो बरिलै, मै दुःखी चेलीको कलेजी खायो बरिलै....