भाद्र ३१,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षक तथा निजामति कर्मचारीलाई कुनै किसिमको राजनीतिक कार्यक्रममा संलग्न नहुँन अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण खांँणले एक सूचना जारी गर्दै यहाँका शिक्षक तथा कर्मचारीलाई यस्तो अनुरोध गर्नुभएको हो । नगरप्रमुख खांणद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा ङ को ५ र ६ तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ च मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती सेवा ऐनको दफा ४४ मा निजामति कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रुपमा रहेको भन्दै यस्तो अनुरोध गरिएको हो ।
साथै नगरपालिका नगरकार्यपालिकाको यही भदौ २६ गतेको बैठकको निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामति कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनीतिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेको हुँदा यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । यो निर्णय विपरित कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।