असोज १६, वालिङ । भूमी ब्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावक विहीन भएको महशुष हुन नदिने बताउनुभएको छ ।
स्याङ्जाको वालिङ १४ तमादीमा आज आयोजित श्रद्धाञ्जलि सभामा बोल्नुहुँदै मन्त्री अर्यालले पहिरोले पुरिएर नौ जनाको ज्यान गएकोप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमि भएको महशुष हुन नदिने बताउनुभएको हो ।
“परिवार गुमाउनुको पीडा छ त्यो पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ” मन्त्री अर्यालले भन्नुभयो, “जे नहुनु थियो भईहाल्यो अब जीवित भएका हामीहरु कमजोर बन्नुहुँदैन” ।
पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताउनुभयो । “भोलि रुने दिन आउन दिंदैनौं सरकार यहाँहरुको साथमा छ” मन्त्री अर्यालले भन्नुभयो, “ढिलो चाँडो
हुनसक्छ तर घर बनाउन सहयोग गर्नेछौं” ।
मन्त्री अर्यालले दिवंगत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । असोज ८ गते बिहान माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिँदा नौ जनाको ज्यान जानुकासाथै घरबासै उठेको थियो ।
पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि बाँकी रहेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।
सोही अवसरमा मन्त्री अर्यालले मृतकका परिवारलाई १० लाख २० हजार प्रदान गर्नु भएको छ ।