गाउँ समाजमा हुने गरेका स—साना झैझगडा समाधान गर्न जिल्ला धाउनुपर्ने अवस्थालाई स्थानीय पालिकाहरुबाट सम्पादन हुन थालेपछि नागरिकहरुमा सहजता ल्याएको छ । २०७४ को स्थानीय निर्वाचनपछि पालिकाहरुमा नै न्यायिक समिति मार्फत गाउँ समाजमा हुने गरेका पारिवारिक एवम् सामाजिक झैझगडाहरुको सम्पादन हुँदै आएको हो । यसरी स्थानीय स्तरमै मेलमिलापको माध्यमबाट समाधान हुने भएपछि नागरिकहरुमा पनि सहजताको महसुस गराएको छ ।
यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाबासीहरुका लागि पालिकाको न्यायिक सम्पादनबाट समाधान हुँदै आएपछि नगरबासीहरुमा सहजता महसुस गराएको नगर उप प्रमुख ईसा रानाले जानकारी दिनुभएको छ ।
दुबै पक्षको उपस्थितिमा मेलमिलापको माध्यमबाट गराइएको न्यायिक सम्पादनबाट सन्तुष्ट पारेर पठाउने गरेको उप प्रमुख रानाको भनाई छ । नगरपालिकाको न्यायिक समितिकि संयोजकसमेत रहनुभएकि रानाले पालिकाको सहजिकरणमा भएको कामबाट नागरिकहरु सन्तुष्ट भएर जाने गरेका आफ्नो कार्यकक्षमा हामीसँगको कुराकानीमा जानकारी दिनुभएको हो ।
प्राय गरेर घरायसी बेमेल, जग्गा सम्बन्धी साँध संधियारमा हुने झगडा, घरेलुु हिंसालगायतका समस्या लिएर नगरबासी आउने गर्छन् । यसमा दुई पक्षको उपस्थितिमा मेलमिलापको माध्यमबाट समाधान गराएर पठाउने गरेको उप प्रमुख रानाले बताउनुभयो । हामीले एउटाको जीत र अर्काको हार भन्दा पनि दुबैलाई जीतको अनुभूति गराएर पठाउने गरेकाले पनि नगरबासीहरुमा सन्तुष्टी दिलाएको उहाँको भनाई छ ।
उप प्रमुख रानाले भन्नुभयो—“धेरैजसो पारिवारिक वेमेलका समस्याहरु बढि आउने गर्छन्, मेलमिलापको माध्यमबाट समाधान गरेर पठाउने गरेका छौं । जग्गाको साँध सँधियारमा नमिलेका विषयलाई पनि दुबै पक्षको उपस्थितिमा सहमति गराएका छौं, हार र जीत भन्दा पनि दुबैलाई जीतको अनुभूत गराउँदै आएकाले प्राय सन्तुष्ट भएर घर जाने गरेको पाएका छौं ।” यसका साथै सम्वन्ध विच्छेदका मुद्दाहरु पनि आउने गरेका छन्, यसमा पनि सकेसम्म मिलाउने प्रयत्न गर्छौं उहाँले भन्नुभयो यस्तो प्रकृतिका एक दुईवटा मुद्दा जिल्ला पठाउनु परेको छ, अन्यथा पालिकाबाटै मिलाउदै आएका छौं । आफ्नै पालिकामा हुने न्यायिक सम्पादनलाई केही नागरिकहरुले अझै पनि विश्वास गर्न नसकेको पाइएको उप प्रमुख रानाले उल्लेख गर्नुभयो ।