Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा वडा र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने

रामपुरमा वडा र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने

  • गोपाल जिटी
  • शुक्रवार, आश्विन २६ २०८०


  • रामपुरमा वडा र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने

    पाल्पाको रामपुरमा वडा कार्यालयकासाथै टोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गरिने भएको छ । योसँगै सेवाग्राहीले सामाजिक सुरक्षाभत्ताबाट दशैं मनाउन पाउने भएका छन् । रामपुर नगरपालिकाले दशैं अगाडि वडा नम्वर १ र १० मा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरेको नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनुभएको हो । नगर प्रमुख थापाले भूगोलको अवस्था अनुसार दशैं अगाडि दुईवटा वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी गरिएको आफ्नो कार्यकक्षमा हामीसँगको कुराकानीमा बताउनुभएको हो । वडा कार्यालयकासाथै टोलहरुबाट पनि यो सेवा दिइने छ ।
    नगर प्रमुख थापाले भन्नुभयो—“त्यहाँको आवश्यकता अनुसार कृषि बिकास बैंकले आफ्नो तयारी गरिसकेको छ । आवश्यकताका आधारमा वडा नम्वर १ को कार्यालयका साथै चारवटा टोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गरिने छ । यसैगरी १० नम्वर वडाको पनि थप चारवटा टोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्नका लागि कृषि विकास बैंकले सबै तयारी पूरा गरिसकेको छ । नगरपालिकाको निर्णय अनुसार र बैंकको सहयोगमा सामाजिक सुरक्षाभत्ता वितरण गरिने छ ।” 
    वडाका साथै टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण हुनेभएपछि सेवाग्राहीलाई यातायात खर्च, समय र बैंकमा गएर लाइन बस्नुपर्ने झण्जट हुनेछैन । 
    यसैगरी दशैं पछाडि वडा नम्वर ९ मा सोहि अनुसार वितरण गरिनेसमेत नगर प्रमुख थापाले जानकारी गराउनुभयो । यो कार्यक्रमलाई यसैगरी निरन्तरता दिइनेसमेत वहाँले बताउनुभयो । समथर तथा भूगोलको सहजता भएका वडाहरुका हकमा भने साविकरुपमा बैंकबाट नै वितरण हुने पनि नगरप्रमुख थापाले जानकारी गराउनुभयो । कतिपय सामान किनमेल गर्नका लागि बेझाँड बजार जानुपर्ने भएकाले समथर भूभागमा साविकरुपमै बैंकबाट सेवा प्रवाह गरिने भएको हो । यदि उहाँहरुले पनि वडाबाट हामीलाई सहज हुन्छ भन्नुभयो भने त्यो पनि नगरपालिकाले सम्वोधन गर्ने नगर प्रमुख थापाले उल्लेख गर्नुभयो ।
    नगर प्रमुख थापाका अनुसार रामपुरमा झण्डै ४२ सय जना सामाजिक सुरक्षा भत्ताका सेवा ग्राही छन् । चौमासिकरुपमा करिव ४ करोड वितरण गर्नुपर्ने देखिन्छ । यसका लागि सेवाग्राहीको सहजताका लागि वडाका साथै टोल टोलबाट वितरण गर्ने नगरपालिकाले निर्णय गरेको छ । 

    शुक्रवार, आश्विन २६ २०८००३:०३:००

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend