पाल्पाको रामपुरमा टोल र वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । नगरका १० वटै वडाका नागरिकलाई बैंकको शाखा मार्फत भत्ता वितरण हुँदै आएकोमा बैंक भन्दा पर रहेका र ग्रामीण बस्तीको टोल मै पुगेर भत्ता वितरण थालेको हो । जनतालाई घरदैलोमा सेवा प्रदान गर्ने नगरको कार्यक्रम अनुसार आईतबार वडा नं. १ को टोलहरुबाट भत्ता वितरण गरिएको हो । वडा नं. १ को बर्दाकोट टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । कृषि विकास बैंकका कर्मचारीहरुको उपस्थितिमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डित एवं रामपुर नगरपालिकाका प्रवक्त एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले टोल बाटै भत्ता वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख थापाले दुरीका हिसाबले टाढा रहेका वृद्ध बुवा आमा, अपाङ्गता भएका नागरिक र एकल महिलाहरुको लागि मध्यनजर गरेर टोलबाटै भत्ता वितरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन नगरका ग्रामीण भेग टोलबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गरिने बताउनुभयो । दशैं अगावै रामपुर नगरपालिकाका वडा नं. १ र १० मा टोल बाटै भत्ता वितरण गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै नगर प्रमुख थापाले लगतै वडा नं. ९ मा पनि टोल बाटै भत्ता वितरण गरिने बताउँनुभयो । आवश्यकताको आधारमा नगरका अन्य स्थानमा पनि यो कार्यक्रम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले नगर कार्यपालिकाको निर्णय अनुसार कृषि विकास बैंकका कर्मचारीहरुको उपस्थितिमा भत्ता वितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
टोलबाटै भत्ता बुझ्न पाउँदा ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् । यसैबीच बर्दाकोटका ९० वर्षीय थीरबहादुर थापा मगरले टोलबाटै भत्ता बुझ्न पाउँदा खुसी लागेको बताउनुभयो । हिडेर जान नसकिने, गाडीमा चढेर जानुपर्ने बाध्यता थियो, अहिले फेरी गाउँ बाटै लिन पाउँदा खुसी लागेको छ, उहाँले भन्नुभयो ।