स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लि. को निर्वाचन यही कात्तिक ३ गते हुने भएको छ । सहकारीको आगामी ४ वर्षे कार्यकालका लागि नवौं अधिवेशनको निर्वाचन कात्तिक ३ गते हुने निर्वाचन मण्डलले जनाएको छ ।
सहकारीले ३१ वार्षिक साधारणसभा सम्पन्न गरी निर्धारित कार्यक्रम अनुसार नवौं अधिवेशन अगाडि बढाएको हो । यही असोज २९ गते संस्थाको ४ वटै सेवाकेन्द्र र एकवटा सदस्य सम्पर्क स्थानमा ३१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । ३० गते बन्दसत्रसहित अधिवेशनको कार्यक्रम अन्तर्गत उमेदवारी मनोनयन सहित निर्वाचनको प्रकृया अगाडि बढाइएको हो । निर्वाचन मण्डलले ३० गते मङ्गलबार साँझसम्म उमेदवारी मनोनयनको समय तोकेको थियो । तोकिएको समय अनुसार पदाधिकारीसहित कूल ३६ जनाले उमेदबारी दिएका निर्वाचन मण्डलका संयोजक मु्क्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो । जसमा अध्यक्ष एक पदका लागि ६ जनाको उमेदवारी परेको छ । अध्यक्ष पदका लागि भरतप्रसाद बगाले, लक्ष्मीपति पौडेल, यमकान्त खनाल, जगदिश गैह«े, चेतनारायण श्रेष्ठ र गोविन्द पङ्गेनीको उमेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्ष एक पदका लागि २ जनाको, सचिवमा ३ र कोषाध्यक्षमा ३ जनाको उमेदवारी परेको छ । यस्तै निर्वाचन मण्डलका अनुसार सञ्चालक सदस्यको ९ पदका लागि १७ जना, लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा २ र सदस्य २ पदका लागि ३ जनाले उमेदवारी दिएका छन् ।
उमेदवारी माथि दावि विरोध कात्तिक १ गते दिउस २ बजेसम्म र दावि विरोधमाथिको छानविन ३ बजेसम्मको समय निर्वाचन मण्डलले दिएको छ । यस्तै २ गते दिउसो २ बजेसम्म उमेदवारी फिर्ता गर्ने समय दिइएको छ । सोहि दिन ५ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने ३ गते मतदान हुने छ ।
संस्थाका चारवटा सेवा केन्द्र र एक वटा सदस्य सम्पर्क कार्यालय गरी ५ स्थानमा मतदानको कार्यक्रम गरिने संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले जानकारी दिनुभयो ।
२०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो र व्यवस्थापकीय राम्रो रहेको मानिन्छ ।