स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशन अन्तर्गतको निर्वाचन कात्तिक १७ गते हुने भएको छ । यही कात्तिक ३ गते गर्ने भनिएको संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन १७ गते गरिने भएको हो । नजिकिएको विजया दशमी र सर्वपक्षीय निर्णय वमोजिम निर्वाचनको मिति संशोधन गरिएको सहकारीले जनाएको छ । २ गते पत्र लेखी निर्वाचन तालिका संशोधन गर्न सहकारीको अनुरोध भए वमोजिम तोकिएको मितिमा हुन नसक्ने व्यहोरा मनासिव देखिएकोले निर्वाचन हुने मिति २०८० कात्तिक १७ गते तय भएको व्यहोरा सरोकारवाला सबैलाई निर्वाचन उपसमितिका संयोजक मुक्तिप्रसाद पाण्डेको हस्ताक्षरसहित सूचना मार्फत जानकारी गराइएको छ । निर्वाचन उपसमितिले उमेदवारहरुको अन्तिम नामावली प्रकाशनसहित यस्तो जानकारी गराएको हो ।
निर्वाचन उपसमितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदमा ४ जनाको उमेदवारी रहेको छ । जसमा लक्ष्मीपति पौडेल, यमकान्त खनाल, चेतनारायण श्रेष्ठ र जगदिश प्रसाद गैह«े रहेका छन् । यसैगरी उपाध्यक्ष एक पदका लागि यज्ञप्रसाद अधिकारी र यमलाल शर्मा पङ्गेनीको उमेदवारी रहेको छ भने लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दुईजना रहेका छन् । यस्तै ९ सदस्य पदका लागि १४ जनाको उमेदवारी परेको छ । जसमा सञ्चालक समिति सदस्य महिलामा ६ जना र खुल्लातर्फ ८ जनाको रहेको छ ।
संस्थाले वालिङ, बायँटारी, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मी गरी ४ वटा सेवाकेन्द्र र वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ । सहकारीमा कूल ७ हजार ८ सय १४ जना शेयर सदस्य रहेका छन् ।
संस्थाका चारवटा सेवा केन्द्र र एक वटा सदस्य सम्पर्क कार्यालय गरी ५ स्थानमा मतदानको कार्यक्रम गरिने संस्थाका अध्यक्ष भरतप्रसाद बगालेले जानकारी दिनुभयो ।