स्याङ्जाको ”नुवाकोट“ जिल्लाकै ऐतिहासिक स्थल हो । वि.सं २०२० सालसम्म जिल्ला सदरमुकाम रहेको नुवाकोटको ऐतिहासिक महत्वका साथै धार्मिक र सांस्कृतिक हिसावले पनि अग्रस्थानमा पर्दछ । योसँगै जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
तत्कालिन समयमा अहिलेको नुवाकोटलाई पश्चिम ४ नम्वर “पल्लो नुवाकोट” भनिन्थ्यो ।
अहिले जिल्ला सदरमुकाम रहेको पुतलीबजारदेखि १५ किलोमिटर उत्तरमा पर्ने नुवाकोट फेदिखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको सिमानामा पर्दछ । नुवाकोट, समुद्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा रहेको छ ।
तत्कालिन चौविसे राज्य मध्येको एक महत्वपूर्ण र स्थापित राज्य पल्लो नुवाकोट भएको “मठ मन्दिरहरु एवम् गुठी व्यवस्थाः संक्षिप्त अध्ययन” पुस्तकमा संस्कृतिविद् प्रा. डा. दिलबहादुर क्षत्रीले उल्लेख गर्नुभएको छ । प्रा.डा. क्षत्रीका अनुसार शाह वंशका आदि पुरुष भूपालका दुई छोरा मध्येका कान्छा मिन्चा खान ( खाँड ) ले पल्लो नुवाकोटलाई नयाँ राज्य स्थापना गरेका थिए । यिनै मिन्चा खानले अस्तित्वमा ल्याएको नयाँकोट नै पछि आएर नुवाकोटले सम्वोधन गरिएको हो । वि.सं. १५१०मा अस्तित्वमा आएको नुवाकोट राज्य वि. सं १८४२ मा विशाल नेपालमा विलय हुनु पूर्वसम्म एक स्वतन्त्र र महत्वपूर्ण राज्य मानिन्थ्यो ।
यसका साथै नेपालका शाहवंशीय राजाको पुख्यौली थलो भनेर पनि नुवाकोटलाई मानिन्छ । वि. सं २०२० सालतिर पुतलीबजारमा सदरमुकाम सारिएको पनि प्रा.डा.क्षत्रीले उल्लेख गर्नुभएको छ ।
परापूर्वकालका सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वका प्रतिविम्वहरु अहिले पनि देख्न पाइन्छ । नुवाकोटे राजाको पुरानो दरवार रहेको स्थानमा टुडिखेल, रानीको चौतारी, रानी पोखरी तथा प्राकृतिक तातो हावा आउने गुफा लगायतका स्थान छन् ।
टुँडिखेलदेखि माथि मन्दिरसम्म सिँढिसहितको पैदलयात्रा गर्दा थकाई भन्दा पनि शान्त र रमणीय वातावरणले आनन्दको अनुभूति गराउँछ ।
जिल्लाका आधाआधी भाग, छिमेकी जिल्ला कास्कीको फेवा रुपाताललगाएत पोखराका अधिकांश भाग अवलोकन गर्न सकिने ठाउँ हो नुवाकोट । यसकासाथै दुरविनको सहायताले स्याङ्जासहित २३ जिल्लाका पहाडी भाग देख्न सकिन्छ । योसँगै मन्दिर नजिकै रहेको टावर अर्को आकर्षण बनेको छ । स्वच्छ, सफा र मनोरम दृष्य अनि जिल्लाकै ऐतिहासिक पृष्ठभूमि नुवाकोटको मुख्य विशेषता हो । सुन्दर हिमदृष्य तथा टाढा टाढासम्म अवलोकन गर्न पाइनु यहाँको आकर्षक पक्ष हो ।
“पल्लो नुवाकोट” राज्यको राजधानी नुवाकोट दरबार परिसरभित्र रहेको कालिकामाईको मन्दिर राजपरिवारले शक्तिपिठकारुपमा आराधना गरेको किंवदन्ती छ । २४ से राज्यको उदयको समयमा नयाँकोटबाट नुवाकोट नामाकरण गरिएको इतिहासविद्हरुको लेखबाट पुष्टी हुने “मठ मन्दिरहरु एवम् गुठी व्यवस्थाः संक्षिप्त अध्ययन” पुस्तकमा काला भैरव पूरातात्विक मन्दिर व्यवस्थापन समितिका सचिव शिवकुमार गौतमले आफ्नो मन्तव्य लेखमा उल्लेख गर्नुभएको छ ।
काला भैरव मन्दिरमा उतिबेलाकै पूरानो शालिक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ बताउनुहुन्छ । यहाँको कालिमाई र चण्डिथानमा आई भाकल गरेमा मनोकांक्षा पूरा हुने जन विश्वास रहेको अध्यक्ष गुरुङको भनाई छ । ७५ वर्षीय गुरुङ २०६६ सालदेखि नुवाकोटको सेवामा निरन्तर लागिरहनुभएको छ । अध्यक्ष गुरुङका अनुसार तत्कालिन राजा मिन्चा खानको पालामा आफै उत्पन्न भएको मूर्ति अहिले पनि सुरक्षित छ । योसँगै पुरातात्विक महत्वको सुनकेसरी देविको मन्दिर रहेको छ । यहाँ पहिलादेखि नै टाढा टाढादेखि मानिसहरु पैदल हिँडेर जाने गर्दथे । अहिले ग्रामिण सडक पुगेपछि भक्तजन तथा पर्यटकहरुका लागि सहज भएको छ । अतः नगएका जानुपर्ने, पहिला गएका फेरि पनि पुग्नुपर्ने स्याङ्जा जिल्लाकै ऐतिहासिक महत्वको पर्यटकीय गन्तव्य हो “नुवाकोट”