वालिङ नगरपालिका ११ कागती भञ्ज्याङबासीले २५ वर्षपछि यो दशैंमा परम्परागत रोटेपिङ खेलेका छन् ।
दशैंका बेला काठैकाठबाट बनाइएको रोटेपिङ हालेर खेल्ने नेपाली समाजको पुरानो प्रचलन हो । बढ्दो आधुनिकतासँगै यस्ता रोटेपिङ खेलेर रमाइलो गर्ने प्रचलन प्राय हराउँदै गएका बेला यहाँका मानिसहरुले फेरि आफ्नो परम्पराको थालनी गरेका छन् । पूmलपातीका दिन हालिएको यो पिङमा यसपालीको दशैंमा कागती भञ्ज्याङवासीले पुरानो याद गराएका छन् ।
पहिला पहिला दशैंमा रोटेपिङ खेलेर निकै रमाइलो गरिन्थ्यो, अहिलेका पुस्तालाई त्यति थाह थिएन । त्यही सम्झना स्वरुप नयाँ पुस्ताले जान्ने र यसैगरी रमाइलो मनाउन भनी यसपाली रोटे पीङ हालेको पीङ निर्माण संयोजक तुलबहादुर थापाले जानकारी दिनुभयो । यो देखेर भोलिका दिनमा पनि गर्छन् कि भनेर पनि धेरैवर्ष पछि रोटेपीङ हालेको पिङ निर्माण संयोजक थापाको भनाई छ । यो ठाउँमा पिङ खेल्नुकासाथै रातभरी रोधी बस्ने चलन थियो, निकै रमाइलो हुन्थ्यो थापाले उ बेलाको सम्झना व्यक्त गर्नुभयो । पहिला पहिला पिङ खेलेर रमाइलो गर्ने अनि एक आपसमा झगडा गर्ने, पीङ भाँच्ने फाल्नेसम्म हुन्थ्यो । यसरी बनाउन,े रमाउने र फाल्ने चलिरहन्थ्यो । यो चेतनामा भर पर्ने कुरा हो, अहिले सबैजनामा चेतनाको विकास भएको भन्ने लाग्छ अब त्यस्तो हुँदैन, पिङ खेलेर रमाइलो गर्ने र आनन्द लिने अनि संरक्षण पनि गरिन्छ भन्ने थापाको विश्वास छ ।
हामी सानो छँदा देखेको र खेलेको पिङ देख्न पाइयो । साथै खेलेर रमाइलो गर्न पाउँदा खुसी लागेको स्थानीय प्रेम थापा बताउँछन् । आँफू र साथीहरुसँग पिङ खेल्दैगर्दा निकै रमाइलो लागेको थापाको भनाई छ ।
घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने नेपाली परम्परा हो ।
आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिन्छ । योसँगै भञ्ज्याङ, चौतारी वरिपरि, फराकिलो बाटो भएको ठाउँ र गाउलेको पाएक पर्ने स्थानहरुमा रोटेपिङ, लिङ्गेपिङ तथा झाँतो झैं घुमाउने झाँते पिङ खेलेर सँगी साथी आफन्त भेला भएर रमाइलो गर्ने सामाजिक परम्परा हो । थप मनोरञ्जनका लागि रोधी बस्ने, नाचगान गर्ने प्रचलनले ती भञ्ज्याङ चौतारी र चोकहरुमा घन्किने मादल र खैंजरीका तालले गाउँ नै गुञ्जायमान हुने गर्दथ्यो । केहीवर्ष यता टीका जमरा लगाउने परम्पराले निरन्तरता पाए पनि पिङ खेलेर उ बेलाको जस्तो रमाइलो गर्ने प्रचलन प्राय हराएर गएको छ ।
पिङ निर्माण संयोजक थापाका अनुसार दशैंको पूर्णिमापछि पिङ खोेलेर राखिन्छ र फेरि तिहारका बेला हालेर खेल्ने अनि रमाइलो गर्ने हाम्रो पुराना चलन हो । कात्तिके एकदशीसम्म यो पिङ रहन्छ भने त्यपछि भने खोलेर राखिन्छ र फेरि अर्को साल यसैगरी पिङ हाल्ने गरिन्छ ।