Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चिलाउनेबासका पौरखी भेषराज (हरि)

चिलाउनेबासका पौरखी भेषराज (हरि)

  • गोपाल जिटी
  • बुधवार, कार्तिक १५ २०८०


  • चिलाउनेबासका पौरखी भेषराज (हरि)

    काम गर्ने जाँगर र सोंच हुने हो भने पैसा कमाउन कहिँ धाउनु पर्दैन । हाम्रा गाउँ टोल वरिपरिका जग्गा जमिनमै अवसर छ । तिनै जमिनको उपयोग गरेर स्थानीय स्तरमै उद्यमी बनेर जीविकोपार्जन गर्न सकिन्छ । यसको एक उदाहरण बनेका छन्— स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्वर २ चिलाउनेबासका भेषराज पौडेल (हरि) । 
    हाम्रो समाजमा धेरै युवाहरुलाई अवसरको खोजीमा विदेश जानेक्रमले परम्पराकैरुप लिएको छ । भेषराज पनि तिनैमध्येका हुन् । ६ वर्ष मलेशियामा परिश्रम गरेर फर्केका भेषराज विगत १२ वर्षदेखि चिलाउनेबासमा तरकारी खेति गर्दै आएका छन् । तरकारीमा गोलभेडा उनको पहिलो प्राथमिता हो भने मौसम अनुसारका अन्य तरकारीहरु पनि लगाउने गर्छन् । यही पेशाबाट उनको परिवार राम्रैसँग चलेको छ । श्रीमती सरस्वती र उनको जीवन यही तरकारी खेतीमा रमाएको छ ।
    यतिबेला उनको टनेलमा गोलभेडा फलिरहेका छन् । उनको टनेलमा सिर्जना जातको बहुवर्षीय गोलभेडा छ । एक पटक लगाएपछि सत्र अठाह« महिना निरन्तर फल दिने भएकाले सिर्जना जातको बहुवर्षीय गोलभेडा लगाएको भेषराज बताउँछन् । उनले मौसम अनुसार काउली, बन्दा, प्याज, सिमी, करेलालगायतका लहरेबाली पनि लगाउँछन् । योसँगै उनले नर्सरीमा बिरुवा उत्पादन गरेर बिक्रि वितरण गर्छन् ।
    सुरु थोरैबाट गर्नुपर्छ, विस्तारै अनुभव गर्दैजाँदा थप प्रगति हुदैजान्छ । यही मान्यता अनुसार भेषराजले एउटा टाट लगाएर तरकारी खेतिको थालनी गरेका हुन् ।
    सुरुमा बिचार गर्न लगाएको राम्रै फल्यो । टाट किनेर लगाएँ अनि दुइ चार गर्दै थप्दै गएँ उनले भने । अहिले उनको खेतमा ८ वटा टनेल छ । भेषराजले छिमेकीको खेत बन्धकि लिएर कृषि उद्यम गर्दै आएका हुन् । स्थानीय शिशिर पौडेल र सुधिर पौडेलको ५ रोपनी खेत डेढ लाखमा बन्धकी लिएर तरकारी खेति गर्दै आएको बताए । गोलभेडाबाट झण्डै ३ लाख आम्दानी हुन्छ भने अन्य तरकारी र बिरुवा बिक्रिबाट ४ लाख भन्दा धेरै नै पार्छु उनले भने । छोरी सात कक्षामा र बाबु ३ मा पढ्छन्, उनिहरुको पढाइ लेखाई र घर खर्च पु¥याएर केही बचत पनि हुन्छ, उनले थपे ।
    कृषिमा उद्यमका बारेमा भेषराज भन्छन््—राज्यले कृषिमा जोड दिन सकेको छैन । यसमा आवश्यकता के हो ? कति हो ? भनेर शुक्ष्म तरिकाले हेर्न सकेको देखिदैन । त्यसैले राज्यको मुख ताकेर केही हुनेवाला छैन, आफै काम गरिएको छ, खुसी नै छु । गाउँ पालिकाले भने टनेल र मिनि टे«क्टर अनुदानमा उपलव्ध गराएको छ ।
    रोग नियन्त्रणका लागि प्रायः विशादी प्रयोग नगर्ने उनले बताए । यसका लागि तितेपाती, असुरो तथा खिर्रोलगायतलाई कुहाएर र गौमुत्रलाई पानीमा मिलाएर प्रयोग गर्दै आएको छु उनले भने । सुरुको समयमा केही अफ्ठ्यारो भए पनि काम गर्दै जाँदा सिक्दै र जान्दै आइयो । एक दुइ पटक तालीम लिएको छु, थप जानकारी आवश्यक परे युट्युवको सहायता लिने गरेको छु । १२ देखि १५ वटा टनेलमा तरकारी खेति गर्ने हो भने मासिक ५० हजार कमाइ गर्न सकिने भेषराजको भनाई छ ।

    बुधवार, कार्तिक १५ २०८००५:०५:२४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend