कार्तिक २२,भीरकोट ।
कार्तिक १७ गते गएको भुकम्पबाट जाजरकोटमा प्रभावित भएका नागरिकहरुको लागि स्याङ्जाको भीरकोट नगरपालिकाले ३ लाख सहयोग प्रदान गरेको छ । कार्यपालिकाको १०६ औँ बैठकले जाजरकोटमा गएको विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि आर्थिक तथा जिन्सी सहयोग प्रदान गर्ने निर्णय गरी सहयोग प्रदान गरिएको हो ।
जाजरकोटका नागरिकहरुको जीवनमा परेको विपत्तीमा केही मात्रामा भएपनि सहयोग पुग्ने हेतुले आर्थिक सहयोग गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो ।उहाँले भन्नुभयो–‘जाजरकोटका नागरिकहरुको मनसँगै हाम्रो मन पनि दुखेको छ । दुखेको मनमा केही मात्रामा भएपनि सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यपालिकाको बैठकले आर्थिक तथा जिन्सी सहयोग गर्ने निर्णय गरेको हो ।’
नगरप्रमुख कर्माचार्यले जाडोको लागि २० थान न्यायो फाइबर सिरक,लत्ताकपडा तथा आर्थिक सहयोग गरी नागरिकको दुखमा भीरकोट नगरपालिका सँगै छ भन्ने सन्देश पुगोस भन्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो ।