Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठको ठेकी बनाउने सीप अग्रजहरुकै भरमा

काठको ठेकी बनाउने सीप अग्रजहरुकै भरमा

  • गोपाल जिटी
  • बिहिवार, कार्तिक ३० २०८०


  • काठको ठेकी बनाउने सीप अग्रजहरुकै भरमा

    काठको ठेकीमा दही जमाउने र मोही पार्ने पुरानो चलन हो । तर पछिल्लो समय काठको ठेकी, आनेमा दही जमाउने र मोही पार्ने क्रममा कमि आएको पाइन्छ । यसका लागि अन्य भाँडा तथा तरिका अपनाइए पनि काठको भाँडामा बनाईएको दही स्वादिष्ट र स्वस्थकर हुने जन विश्वास छ । काठका ठेकी बनाउने र प्रयोग गर्ने पुरानो चलन लोप हुने अवस्थामा छ । यसैबीच स्याङ्जा वालिङका अग्रज कालिगढहरु काठको ठेकी बनाउने परम्परागत पेशा धानिरहेका छन् । 
    वालिङ नगरपालिका वडा नम्वर १३ खानीडाँडाका अग्रज कालिगढहरु अहिले पनि काठको ठेकी बनाउन छाडेका छैनन् । यहाँका ७७ वर्षीय गजबहादुर बिक, ६९ वर्षीय टेकबहादुर बिक र ६७ वर्षीय मधुबहादुर बिकलगायतका अग्रज कालिगढहरुले काठको ठेकी बनाउने पेशालाई निरन्तरता दिइरहेका हुन् । यसरी हेर्दा लोपोन्मुख अवस्थामा रहेको सीप अग्रजहरुकै भरमा रहेको देखिन्छ । प्राय गरेर वर्षको एक सिजनमात्र बनाउने गरिन्छ भने असोज र कात्तिक महिना ठेकी बनाउने समय हो । ठेकी बनाउने कामलाई ठेकी कुँद्ने पनि भनिन्छ ।
    तयारी ठेकी प्रति माना ३ सयको दरमा बिक्रि गरिने मधुबहादुर बिक बताउनुहुन्छ । उहाँका अनुसार २० माने ठेकीको ६ हजार रुपैयाँ पर्छ  । यहाँ बनेका ठेकी जिल्ला सदरमुकाम पुतलीबजारदेखि राम्दीसम्म बिक्रि हुने गरेको बिकको भनाई छ । बिक भन्नुहुन्छ—कटहर र दारिगिठाको काठबाट बनेको ठेकी राम्रो मानिन्छ । १५ हजारमा खरिद गरेको कटहरको काठबाट २० माने ठेकी २२ वटासम्म बन्छ । यो काममा निकै मेहनत गर्नुपर्छ । ५ जनाले काम गर्दा एउटा ठेकी बनाउन ३ घण्टा लाग्छ भने दिनमा २ वटा तयार गरिन्छ । बनाइसकेपछि बिक्रि हुदैन कि भन्ने अवस्था भने छैन । 
    अन्य क्षेत्रमा जस्तो काठको ठेकी बनाउने त्यस्तो प्रविधि नबनेको गजबहादुर बिक बताउनुहुन्छ । अहिले पनि बाजेका पालाकै तरिकाले ठेकी बनाउँदै आएको बिकको भनाई छ । काठ अड्याउने भाँडी, त्यसलाई मोहि पारेझैं डोरी तान्ने लोता र बुट्टा हान्ने अनि भित्रि भाग खोल्ने बागको सहारामा पुरानो तरिकाले ठेकी बनाइने टेकबहादुर बिक बताउनुहुन्छ । यो काममा बल चाहिन्छ, अब हामी बुढो भैसकियो बिकले भन्नुभयो केही युवाहरुले जेनतेन सघाएका छन् र अहिलेसम्म गरिएको छ । अब हामी बुढा पनि भयौं, युवाहरुमा त्यति चासो देखिदैन केही वर्षपछि त यो पेशा धानिएला भन्ने लाग्दैन बिकले चिन्ता व्यक्त गर्नुभयो ।

    बिहिवार, कार्तिक ३० २०८००३:१३:४५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend