यतिबेला किसानहरु वर्षे अन्न सिहारेर हिउँदे खेति लगाउने काममा व्यस्त छन् । हिउँदेखेति मध्ये आलु पनि एक हो । यसैबीच स्याङ्जाको वालिङ १३ पाठखोलाका किसानहरु सामुहिक आलु खेतीमा सक्रीय भएर लागेका छन् ।
कृषि ज्ञानकेन्द्र स्याङ्जाले बीउमा अनुदान र खरिद बिक्रिकोसमेत जिम्मा लिएसँगै किसानहरुलाई थप उत्साही बनाएको हो । जस अनुसार यहाँको स्वाभिमान कृषक समूहले ४० रोपनी क्षेत्रफलमा सामुहिकरुपमा आलु लगाउने भएका हुन् । किसानहरुले ४ वटा क्लष्टर बनाएर सामुहिकरुपमा आलु लगाएका छन् ।
२०७३ सालदेखि यहाँका महिलाहरुले सामुहिक तरकारी खेति गर्दै आएका छन् । सत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गत तालीम लिएपछि यहाँका महिलाहरु तरकारी खेति व्यावसायिकरुपमा गर्दै आएका हुन् । तालीममा सिकेका कुरालाई प्रयोगमा ल्याई व्यावसायिक तरकारी खेतिमा लागेको समूहकी अध्यक्ष मिना पाठकले बताउनुभयो । समूहमा १८ जना सहभागी रहेको उल्लेख गर्दै अध्यक्ष पाठकले सबैजनाले सामुहिकरुपमा मौसमी तथा वेमौसमी तरकारी खेति गर्दै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार ४ वटा क्लष्टर बनाएर कूल ४० रोपनी क्षेत्रमा आलु लगाउने काम गरिएको छ । यहाँ जनकदेव र खुमल उज्ज्वल जातको आलु लगाइएको छ ।
यसैगरी कृषि ज्ञानकेन्द्र स्याङ्जाले आवश्यक सहयोगसँगै अनुदानसमेत उपलव्ध गराएर थप उत्साही बनाएको समूहकि प्रवक्ता तारा पाठकले बताउनुभयो । ज्ञानकेन्द्रले समूहलाई ४५ क्वीण्टल बीउ अनुदानमा उपलव्ध गराएको हो । प्रवक्ता पाठकका अनुसार कृषि ज्ञानकेन्द्रले ७५ प्रतिशत अनुदानमा बीउ उपलव्ध गराएको र आवश्यक थप सहयोगसमेत गर्ने भएको छ । उत्पादन भएपछि प्रचलित मूल्यमा ज्ञानकेन्द्रले खरिद बिक्रिकोसमेत जिम्मा लिने सम्झौता गरेको प्रवक्ता पाठकले उल्लेख गर्नुभयो । यसकासाथै जैविक मल, डडुवा नियन्त्रण गर्ने विषादी र यान्त्रिकिकरणको पनि ज्ञानकेन्द्रले सहयोग गर्ने भएको छ ।
कृषि ज्ञानकेन्द्रले अनुदानसँगै खरिद बिक्रिको जिम्मासमेत लिने भएकाले समूह बाहिर रहेकाहरु समेत आलुखेतीमा आकर्षित भएका छन् ।