Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङलाई वातावरणमैत्री नगर बनाउँछौँ –नगरप्रमुख खाँण 

वालिङलाई वातावरणमैत्री नगर बनाउँछौँ –नगरप्रमुख खाँण 

  • सन्देश भण्डारी
  • बिहिवार, मंसिर २१ २०८०


  • वालिङलाई वातावरणमैत्री नगर बनाउँछौँ –नगरप्रमुख खाँण 

    मंसिर २१,वालिङ ।
    स्याङ्जाको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाई वातावरणमैत्री नगरपालिका बनाउने बताउनुभएको छ । बुधबार आयोजित नगरपालिकाको एकिकृत र समावेशी जोखिम संवेदनशील भू उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीमा नगरप्रमुख खाँणले वातावरणीय अध्ययनबिनाका योजनाहरु अपूरा हुने उल्लेख गर्नुभएको हो ।
    ‘बाढी,पहिरो लगायत भू–क्षयका प्रकोपहरुको जोखम वालिङका नागरिकहरुलाई धेरै नै छ । विगतका योजनाहरु जे जसरी भए,ती सबैलाई आवश्यक अध्ययन र परिमार्जन गरी हामी वातावरणीय प्रभावलाई न्यून हुने गरीमात्र विकास निर्माणका कामहरु गर्छौँ,’नगरप्रमुख खाँणले भन्नुभयो–‘विकास निर्माणका कामहरु गर्दा हुने असरलाई न्यूनिकरण गर्नको लागि हामी कटिवद्ध छौँ ।’

    IMG_6366.JPG
    युएनडीपीको प्राविधिक सहयोगमा तयार पारिएको जोखिम संवेदनशील नक्साहरुको प्रभावकरीतालाई अध्ययन गरी कार्यपालिकाको बैठकबाट पारित गरी योजना तर्जुमा गरिने खाँणले जानकारी दिनुभयो । उहाँले भूउपयोग योजनाको प्रतिवेदनले नगरको भौतिक वातावरण सबल बनाउन सहयोग गर्ने उल्लेख गर्दै स्मार्ट नगरको योजनालाई सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
    गोष्ठीमा नगर उपप्रमुख कविता तिवारी गैह«ेले समृद्ध नगरका योजनाहरु तर्जुमा गर्दा भूबनोट,जोखिमका अवस्थाहरु लगायतका पक्षहरुलाई मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो ।‘भूबनोटलाई नहेरीकन बनाएका योजनाहरुले वातावरणमा धेरै नकारात्मक प्रभाव पर्नै भएकाले आगामी दिनहरुमा नगरका योजनाहरु बनाउँदा प्रभाव मूल्याङ्कन गरेर मात्र बनाउँछौँ ’ उपप्रमुख तिवारीले भन्नुभयो–‘प्राकृतिक सम्पदाको बचावट र तिनको उपयोगबाट नागरको आर्थिक ,भौतिक लगायताका पक्षहरु सबल बनाउँछौँ ।’

    images

    IMG_6337.JPG
    युएनडीपीको प्राविधिक सहयोगमा तयार पारिएको प्रतिवेदनको आधारमा भू–क्षयका जोखिम न्यूनिकरणको लागि आवश्यक योजनहरु बनाएर कार्यान्वयन गरिने उपप्रमुख तिवारीको भनाई छ ।
    प्रतिवेदनले वालिङका भू–क्षयका घटनाहरुमध्ये ८६ प्रतिशत घटनाहरु सडक निर्माणका कारण भएको देखाएको छ । भिरालो जमिनमा वातावरणीय प्रभावको क्षतिलाई मूलयाङ्कन नगरी सडक निर्माण गर्दा पहिरोले  धनजनको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । 
      

    बिहिवार, मंसिर २१ २०८००५:३०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend