२८ मङ्सीर, वालिङ
स्याङ्जामा उत्पादन भएका सुन्तला उपभोक्ताहरुको रोजाईमा पर्दछ । त्यसैले त स्वादिलो सुन्तला उत्पादन हुने जिल्लाकारुपमा परिचित छ । यतिबेला किसानहरुका बगानमा सुन्तला पाकेर पहेंलपुर भैरहेका छन् । सुन्तला उत्पादनबाट जिल्लाको पहिचान दिने श्रेय यहाँको माटोसँगै मेहनती किसानलाई जानेमा दुइमत छैन । पछिल्लो समयमा धेरै किसानहरुले व्यावसायिकरुपमा सुन्तलाखेति गरेर सफल कृषकको पहिचान बनाएका छन् । यस्तै एक सफल कृषक हुन्—वेदबहादुर गुरुङ । वालिङ नगरपालिका वडा नम्वर ४ खाल्टेका वेदबहादुर चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङका बुवा हुन् ।
गतवर्ष ९ लाख ५५ हजारको सुन्तला बिक्रि गरेका वेदबहादुरले अहिले १२ लाख आम्दानी हुने अनुमान छ । पोहोर साल भन्दा अहिले अझ राम्रो फल दिएकाले वेदबहादुरलाई सुन्तलाको कमाइले गाउँमै रमाई भएको छ । चार भागमा एक भाग गोडमेल, स्याहार सुसारमा खर्च भएपनि तीन भाग आँफूलाई फाईदा हुने उनले बताए ।
७३ वर्षको उमेरमा पनि निकै फुर्तिला देखिने अवकाशप्राप्त भारतीय सेना गुरुङलाई सुन्तला फलाएर लाखौंको कमाईसँगै आफ्नै गाउमा आनन्दले रमाई भएको हो । उनको साना ठुला गरेर ५ वटा बगानमा १ हजार बोट छन् भने अहिले सातसय बोटले फल दिएका छन् । बाँकी ३ सय बोट फलदिने तयारीमा छन् । वडा नम्वर १ को खहरेमा पक्की घर भएपनि गाउँमै आनन्द र रमाइलो लाग्ने वेदबहादुर बताउँछन् ।
५ सन्तानका बुवा बेदबहादुरलाई सुन्तला खेतिमा चासो भारतीय सेनामा रहँदैको हो । पहिलाका दिन सम्झदै उनी भन्छन्— ‘शर्मिला छोरी सानै हुँदा म पल्टनबाट छुट्टीमा आएको थिएँ । त्यति बेला अहिले जस्तो यातायातको सुविधा थिएन । सुन्तलाको बेर्ना लिएर आउँदा तल फेदिमा बास बसेर भोलिपल्ट घर आएको हो । सुन्तला खेतिमा रुचि मेरो पहिल्यै देखि नै थियो ।’ घर वरिपरी, खेतबारी सबै सुन्तलाले भरिएको छ ।
परम्परागत रुपमा दशक अगाडि नै सुन्तला लगाए पनि व्यवसायिक रुपमा भने विगत ५ वर्षदेखि आम्दानी लिँदै आएको वेदबहादुरले बताए । व्यापारीहरु घरमै आउने भएकाले सुन्तला विक्रिका लागि उनलाई कुनै चिन्ता छैन् । बुटवल, मुग्लिङ, पोखराका व्यापारीहरु बगँैँचामै आउछन् ।
वेदबहादुरलाई सुरुमा बिरुवा लगाउँदा खिसि गर्नेहरुले पनि अहिले सुन्तला खेतिलाई अङ्गांलेर व्यावशायिक बनेका छन् । फलस्वरुप खाल्टेगाउँ सुन्तलामय हुन गएको छ । सुन्तलाकै नामबाट “सुन्तलाबारी होमस्टे” समेत सञ्चालनमा आएको खाल्टेमा यति बेला सुन्तलाले पहेँलपुर छ । गाउँमा सुन्तला खेतिगर्ने वेदबहादुर पहिलो व्यक्ति हुन् भने क्रमशः अरुले पनि गर्नथालेपछि खाल्टे गाउँ अहिले सुन्तलामय बनेको हो । योसँगै एलादी खाल्टे सुन्तलाको पकेट क्षेत्र बनिसकेको छ । काम गर्नुपर्छ, आफ्नै गाउँमा हिरा फल्छ, माटो सुहाउँदो खेति गरियो भने विदेश जान पर्दैन, बेदबहादुरले भने ।’
गाउँमा सुन्तलाबाट पैसा आउन थालेपछि अहिले आएर केही युवाहरुले पनि चासो दिन थालेको गुरुङको भनाई छ ।